यस दशकको अन्त्यसम्ममा नवीकरणीय ऊर्जा क्षमतालाई तीन गुणा बढाउने लक्ष्य हासिल गर्न विश्वका अधिकांश देश असफल देखिएका छन् । सन् २०२३ मा दुबईमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन ( कोप– २८)मा विश्वका १३० देशले सन् २०३०सम्म नवीकरणीय ऊर्जा क्षमतालाई तीन गुणा बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
जलवायु थिंकट्यांक एम्बरले गरेको अध्ययनका अनुसार विश्वका २२ देशले मात्र आफ्नो नवीकरणीय ऊर्जाको महत्त्वाकाङ्क्षा बढाएका छन्,जसमध्ये अधिकांश युरोपेली संघ भित्रका राष्ट्र छन् । नवीकरणीय ऊर्जाको विकासमा देखिएको यो सुस्तताले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने लक्ष्य पुरा नहुने र विश्व अझै जीवाश्म इन्धनमा निरन्तर निर्भर रहने देखिएको छ ।
अध्ययन प्रतिवेदनका अनुसार कोप–२८ यता राष्ट्रिय नवीकरणीय ऊर्जा लक्ष्यको विश्वव्यापी योग मात्र २ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्र संघको सन् २०३०सम्म नवीकरणीय ऊर्जा तीन गुणा बढाउने लक्ष्य पूरा गर्न त्यति बेलासम्म ११ टेरावाट ऊर्जा उत्पादन गर्न आवश्यक पर्दछ तर त्यो हासिल गर्ने दिशाको प्रगति अत्यन्त न्यून रहेको अध्ययनले देखाएको छ ।
‘सन् २०३० सम्ममा यो ऊर्जा क्षमतालाई तीन गुणा बढाउनु भनेको १.५ डिग्री सेल्सियसको जलवायु मार्गमा अगाडि बढ्न यस दशकको सबैभन्दा ठूलो कार्य हो, ’ प्रतिवेदनमा भनिएको छ ।
कोप– २८मा यो लक्ष्य तय भएतापनि विश्वका अधिकांश देशका राष्ट्रिय लक्ष्यहरू अपरिवर्तित रहेका र आवश्यक भन्दा कम रहेका देखिएको छ ।
प्रतिवेदनले युरोपेली संघ बाहेक केवल सात देशले मात्र सम्झौतामा हस्ताक्षर गरेदेखि आफ्नो नवीकरणीय ऊर्जा लक्ष्यहरू अद्यावधिक गरेका छन् । यो सहमति अनुसार कार्य गर्न असफल रहेका ठूला देशमा अमेरिका, चीन र रूस पर्छन् । यी देशहरू विश्वका ठूला ऊर्जा उपभोक्ता समेत हुन र विश्वको कुल वार्षिक कार्बन उत्सर्जनमा यी देशको हिस्सा लगभग आधा छ । अमेरिका र रुससँग २०३० सम्मका लागि कुनै नवीकरणीय ऊर्जा लक्ष्य छैनन् र उनीहरूका राजनीतिक नेताले कुनै पनि लक्ष्य तय गर्ने अपेक्षा नरहेको प्रतिवेदनमा उल्लेख छ । उता, चीनले २०२६ देखि २०३०सम्मको अवधिलाई समेटेर १५औ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने तयारी गरेको र यो दस्ताबेजमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।
भारतले पनि स्वच्छ ऊर्जाका लक्ष्यलाई अपरिवर्तित राखेको छ । तर भारतको सन् २०३० सम्ममा ५०० गिगावाट नवीकरणीय ऊर्जा निर्माण गर्ने महत्त्वाकाङ्क्षा र विश्वव्यापी नवीकरणीय ऊर्जा क्षमतालाई तीन गुणा बढाउने लक्ष्यले तादाम्यता राख्ने प्रतिवेदनको ठहर छ ।
कोप–२८ पछि नवीकरणीय ऊर्जामा सबैभन्दा ठूलो महत्त्वाकाङ्क्षा देखाउने देश भियतनाम हो । भियतनामले यो दशकको अन्त्यसम्ममा आफ्नो क्षमता ८६ गिगावाटले बढाउने प्रतिबद्धता जनाएको छ । यसै गरी, अस्ट्रेलिया र ब्राजिलले आफ्नो घरेलु नवीकरणीय ऊर्जा क्रमशः १८ गिगावाट र १५ गिगावाटले बढाउने वाचा गरेका छन्।
बेलायतले गत वर्ष आफ्नो नवीकरणीय ऊर्जा योजनालाई अद्यावधिक गरेको थियो, जसअनुसार सन २०३० सम्ममा थप ७ गिगावाट नवीकरणीय ऊर्जा निर्माण गर्ने प्रतिबद्धता सहित लगभग कार्बन–रहित बिजुली प्रणाली सिर्जना गर्ने लक्ष्यमा पुग्ने योजना बेलायतको छ । कोरियामा सन् २०३० सम्ममा ९ गिगावाटले नवीकरणीय ऊर्जा बढ्ने अपेक्षा गरिएको छ । (गार्जियनबाट साभार)
प्रकाशित: १५ श्रावण २०८२ १३:२८ बिहीबार





