४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान

१३ लाखको सुपारी र जीपीएसबाट लोकेसन ट्र्याक

भारतको महाराष्ट्रस्थित गोन्डियामा श्रीमानसँग प्रेम सम्बन्ध रहेको शंकामा एक महिलाले भाडाका हत्यारा लगाएर एयरलाइन्स कर्मचारीको हत्या गराएको प्रहरीले खुलासा गरेको छ।

३५ वर्षीया वर्षा तुर्करको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका पुरुष साथी नितेश अग्रवालकी श्रीमती मोना अग्रवालसहित चार जनालाई पक्राउ गरेको छ। घटनामा अन्य दुई जना फरार छन्।

पुणे विमानस्थलमा एयरलाइन्स कम्पनीमा काम गर्ने वर्षा दीपावलीको बिदामा मध्य प्रदेशको बालाघाटस्थित माइती गएकी थिइन्। नोभेम्बर १४ मा उनी नितेशसँग महाराष्ट्रको गोन्डिया घुम्न गएकी थिइन्।

फर्कने क्रममा उनीहरू बोन्द्रानी गाउँको जंगलमा रहेको शिव मन्दिर नजिकै रोकिएका थिए। साँझ साढे ५ देखि ६ बजेको बिचमा मोटरसाइकलमा आएका तीन जनाले वर्षामाथि चक्कु प्रहार गरेका थिए। पेट र ढाडमा गम्भीर चोट लागेपछि उनको मृत्यु भएको थियो।

प्रहरीका अनुसार नितेशसँग वर्षाको सम्बन्ध रहेको आशंकामा उनकी श्रीमती मोना असन्तुष्ट थिइन्। उनले छिमेकी कुणाल कुम्भालकरको सहयोगमा हत्याको योजना बनाएकी थिइन्। कुणालले शाहरुख पठानमार्फत १३ लाख भारतीय रुपैयाँमा हत्या गराउने सम्झौता गरेको प्रहरीको दाबी छ। शाहरुखले हत्याका लागि अन्य तीन जनालाई परिचालन गरेका थिए।

अनुसन्धानका क्रममा नितेशले चलाएको कार मोनाकै नाममा रहेको र त्यसमा जीपीएस सुविधा रहेको खुलेको छ। प्रहरीले मोनाले गाडीको लोकेसन ट्र्याक गर्ने एपको पहुँच हत्यामा संलग्न व्यक्तिहरूलाई दिएको जनाएको छ। यसबाट उनीहरूले नितेश र वर्षाको गतिविधि निगरानी गरी जंगलमा पुगेको स्थान पत्ता लगाएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुरुमा घटनालाई लुटपाटका रूपमा प्रस्तुत गरिएको थियो। नितेशले अपरिचित व्यक्तिहरूले आक्रमण गरी नगद र गरगहना लुटेको बताएका थिए। तर वर्षाको शरीरमा रहेका गरगहना सुरक्षित भेटिएपछि प्रहरीलाई उनको बयानमाथि शंका लागेको थियो।

प्रहरीले घटनाको अनुसन्धानका लागि ६ वटा टोली गठन गरी करिब २०० सीसीटीभी क्यामेराको फुटेज जाँच गरेको थियो। अनुसन्धानपछि मोना अग्रवाल, कुणाल कुम्भालकर, शाहरुख पठान र इमरान शेख पक्राउ परेका छन्। नलेन शेख र कृष राउत भने फरार छन्। 

प्रहरीले उनीहरूको खोजी जारी राखेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App