चीनमा भएको सांघाई सहयोग संगठनको सम्मेलन समापन भएपछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा किम जोङ र उनीसँगै रहेका कर्मचारीहरूले उनको एउटा बैठकपछि कोठामा भएका सामानहरू सफा गरिरहेको देख्न सकिन्छ।
चीनको सांघाई सम्मेलनमा धेरै देशका नेताहरूको भेटवार्ता भएको थियो। तीमध्ये रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ सबैभन्दा धेरै हाइलाइटमा आए। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको बैठकमा दुवै नेताहरूको उपस्थितिको रौनक फरक थियो। यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा किम जोङ र उनीसँगै आएका कर्मचारीहरूले उनको एउटा बैठकपछि कोठामा रहेका सामानहरू सफा गरिरहेको देख्न सकिन्छ। यद्यपि, भिडियोमा यो सामान्य सरसफाइ नभएको, तर किमले छोएका सामानहरू वा उनको कुनै पनि प्रकारको चिह्न भएको स्थानको सरसफाइ थियो भन्ने कुरा स्पष्ट देखिन्छ। सरल भाषामा ती सामानहरूमा किमको डीएनए बाँकी भएर हटाइएको देखिन्छ।
उत्तर कोरियाका नेता किम सांघाई सम्मेलनको लागि चीनको बेइजिङ पुगेका थिए, जहाँ उनले दोस्रो विश्वयुद्धसँग सम्बन्धित सैन्य परेडमा समेत भाग लिएका थिए। यस कार्यक्रम बाहेक किमले रुसी राष्ट्रपति पुटिनलाई पनि भेटेका थिए। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त भाइरल भिडियो त्यही बैठक पछिको हो। भिडियो एक रुसी पत्रकार अलेक्ज्याण्डर युनाशेभले आफ्नो टेलिग्राममा सेयर गरेका छन्। यसमा उत्तर कोरियाली अधिकारीहरूले बैठक स्थलमा किम बसेको कुर्सी भाग सफा गरिरहेको र उनको ह्विस्कीको गिलास र ट्रे समेत हटाएको देखिन्छ।
यति मात्र होइन, अर्का कर्मचारीले किमको कुर्सीको खुट्टा र ह्यान्डरेस्ट पनि सफा गर्छन्। यसबाहेक, उनको अगाडि राखिएको टेबलबाट किमको हातका छापहरू पनि हटाइन्छ। युनाशेभका अनुसार पुटिन र किमको वार्तापछि उनीसँगै आएका कर्मचारीहरूले बैठक स्थलबाट उनको उपस्थितिको सबै प्रमाणहरू हटाएका हुन्।
किमको डीएनए हटाउनुको कारण के हो ?
जापानी पत्रिका निक्केईले स्रोतहरूलाई उद्धृत गर्दै दाबी गरेको थियो उत्तर कोरियाले किम जोङ चीन जानुअघि नयाँ बाथरूम तयार पारेको थियो, जहाँ अरू कसैलाई जान अनुमति थिएन। उनीसँगै जाने गार्डहरूलाई किमको सबै छाप मेटाउने जिम्मेवारी दिइएको थियो। उत्तर कोरियाली नेता आफ्नो विशेष रेलबाट चीन पुगेका थिए।
किमको डीएनए विश्लेषण गरेर अन्य देशहरूले उनको स्वास्थ्य अवस्थाको बारेमा महत्वपूर्ण जानकारी प्राप्त गर्न सक्छन् भनेर किमको डीएनए नष्ट गरिएको दाबी गरिएको छ। दिसा, पिसाब मार्फत मात्र नभई उनले प्रयोग गरेको गिलास, कप, खानाको प्लेट आदिबाट पनि डिएनए प्राप्त हुने र उनको स्वास्थ्यका बारेमा बाहिर जानकारी आउन सक्ने आशंङ्काले यसो गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
उत्तर कोरियाली तानाशाहको उपमा पाएका किमको स्वास्थ्यको बारेमा कुनै जानकारी बाहिर आयो भने उत्तर कोरियाली मिडिया नै उनको विरुद्धमा जान सक्ने र एक संवेदनशील मुद्दा बन्न सक्ने अनुमान गरिएको छ। किनभने त्यहाँ किम परिवारलाई भगवानको रूपमा प्रस्तुत गरिएको छ र उनीहरूलाई कुनै पनि प्रकारको स्वास्थ्य समस्या नभएको दाबी गरिएको छ।
विश्लेषकका अनुसार किमले आफू जस्तै देखिने नक्कलीहरू पनि बोक्छन्, ताकि कुनै पनि खतराको अवस्थामा वास्तविक किम जोङ सुरक्षित रहोस्। यद्यपि, यदि उनको डीएनए र औंलाको छाप शत्रुको हातमा पर्यो भने किमको गतिविधिहरू ट्र्याक गर्न सक्छन् र यसले खतरा ल्याउन सक्छ। एजेन्सी
प्रकाशित: १९ भाद्र २०८२ १०:३१ बिहीबार

