अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवामा १५ अर्ब डलर लगानीमा अमेरिकाकै सबैभन्दा ठुलो स्टिल प्लान्ट निर्माण गर्ने योजना घोषणा गरेका छन्।
भारतको एसार समूहको स्वामित्वमा रहेको अमेरिकास्थित मेसाबी मेटालिक्सले उक्त प्लान्ट निर्माण गर्ने भएको हो। मेसाबी मेटालिक्सले आयोवामा निर्माण हुने स्टिल प्लान्टमा १५ अर्ब डलर लगानी गर्नेछ। त्यस्तै, मिनेसोटामा रहेको फलाम खानी तथा प्रशोधन परियोजना पूरा गर्न थप तीन अर्ब डलर लगानी गर्ने योजना छ। यसरी कम्पनीको कुल लगानी १८ अर्ब डलर पुग्नेछ। मिनेसोटाको खानीबाट निकालिएको फलाम आयोवामा निर्माण हुने प्लान्टमा स्टिल उत्पादनका लागि प्रयोग गरिनेछ।
प्लान्ट सन् २०३० मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। पहिलो चरणमा वार्षिक ७५ लाख टनभन्दा बढी स्टिल उत्पादन गर्ने र विस्तारपछि उत्पादन क्षमता एक करोड टनसम्म पुर्याउने योजना छ। प्लान्ट निर्माणका क्रममा ६ हजारसम्म रोजगारी सिर्जना हुने र सञ्चालनमा आएपछि कम्तीमा एक हजार ७५० स्थायी रोजगारी उपलब्ध हुने ह्वाइट हाउसले जनाएको छ।
कम्पनीका अनुसार परियोजनाको पहिलो चरणले निर्माण अवधि र सञ्चालनको पहिलो १० वर्षमा करिब ९५ अर्ब डलरको आर्थिक प्रभाव पार्ने अपेक्षा गरिएको छ। आयोवामा प्लान्ट निर्माण हुने स्थान भने कम्पनीले अझै स्पष्ट गरेको छैन। अमेरिकी ऊर्जा सचिव क्रिस राइटले भने यो प्लान्ट आयोवाको दक्षिणपूर्वी क्षेत्रमा बन्ने बताएका छन्।
ट्रम्पले परियोजनालाई अमेरिकामा घरेलु स्टिल उत्पादन बढाउने आफ्नो नीतिसँग जोड्दै विदेशी स्टिलमा लगाइएको उच्च शुल्कले अमेरिकी उद्योगमा लगानी बढाएको बताएका छन्। उनले आफ्नो प्रशासनले विदेशी स्टिलमा ५० प्रतिशतसम्म शुल्क लगाएपछि कम्पनीहरू अमेरिकामै उत्पादन केन्द्र स्थापना गर्न इच्छुक भएको बताए।
वाणिज्य सचिव हावर्ड लटनिकले पनि स्टिलमा लगाइएको शुल्ककै कारण मेसाबीको खानी र नयाँ स्टिल प्लान्ट निर्माण हुन लागेको जानकारी दिए। उनका अनुसार विदेशी स्टिलमा लगाइएको शुल्कले अमेरिकी स्टिल उद्योगमा लगानीका लागि वातावरण तयार गरेको हो।
अमेरिकी एक्सपोर्ट-इम्पोर्ट बैंकले मेसाबी मेटालिक्सको मिनेसोटास्थित फलामसम्बन्धी परियोजनाका लागि ७७ करोड डलर प्रत्यक्ष ऋण स्वीकृत गरेको छ। तर आयोवामा बन्ने स्टिल प्लान्टले प्रत्यक्ष संघीय आर्थिक सहयोग नपाउने लटनिकले बताए।
मेसाबी मेटालिक्सको स्वामित्व भारतको एसार समूहसँग छ। एसार समूहका सहसंस्थापक रवि रुइया हुन्। एसारको रूससँग पनि लामो समयदेखिको व्यावसायिक सम्बन्ध छ। समूहको ऊर्जा व्यवसायअन्तर्गत रहेको एसार आयलले सन् २०१६ मा भारतको गुजरातमा रहेको तेल प्रशोधन केन्द्र रूसी नेतृत्वको समूहलाई करिब १२ अर्ब ९० करोड डलरमा बिक्री गरेको थियो।
त्यसपछि एसार आयलको नाम परिवर्तन गरेर नायरा इनर्जी राखिएको थियो। नायरा इनर्जीमा रूसी ऊर्जा कम्पनी रोसनेफ्टको ४९ प्रतिशत हिस्सा छ। युरोपेली संघले नायरा इनर्जीमाथि प्रतिबन्ध लगाए पनि एसार समूह वा आयोवामा बन्न लागेको स्टिल प्लान्टले अमेरिकी वा युरोपेली प्रतिबन्ध उल्लंघन गरेको प्रमाण छैन।
मेसाबी मेटालिक्सले यसअघि मिनेसोटामा फलाम खानी र प्रशोधन केन्द्र निर्माणको काम थालेको थियो। सन् २००८ मा एसार समूहले सुरु गरेको उक्त परियोजना लामो समयसम्म ढिलाइ भएपछि सन् २०१६ मा कम्पनी टाट पल्टिएको थियो। पछि कम्पनी पुनर्गठन हुँदै मेसाबी मेटालिक्सका रूपमा अघि बढेको हो।
नयाँ परियोजनाले मिनेसोटाको फलाम खानी र आयोवाको स्टिल प्लान्टलाई एउटै उत्पादन प्रणालीमा जोड्नेछ। ह्वाइट हाउसले यसलाई अमेरिकामा सन् १९६० को दशकपछि निर्माण हुन लागेको पहिलो ‘मेगा स्टिल प्लान्ट’ भनेको छ।
ट्रम्प प्रशासनले परियोजनालाई अमेरिकी उत्पादन र रोजगारी विस्तारको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ। आयोवामा गभर्नर, सिनेट र संसदका लागि हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याटबिच प्रतिस्पर्धा हुँदैछ। एजेन्सीको सहयोगमा
प्रकाशित: १३ आश्विन २०८३ २१:२५ मंगलबार





