१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एआईबाट परीक्षा लिन खोज्दा प्रश्नपत्रमा प्रश्नै गायब, उत्तर मात्र छापिएपछि हंगामा

एआई तस्बिर

भारत समय समयमा हुने प्रश्नपत्र लिक प्रकरणलाई लिएर चर्चाम छ। त्यहाँका विद्यार्थीले केन्द्रीय शिक्षामन्त्री धमेन्द्र प्रधानको राजीनामा समेत माग्दै आएका छन्। 

यसबिच राजस्थान विश्वविद्यालयबाट एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विश्वविद्यालयको पीजी स्कुल अफ ह्युम्यानिटीजमा समाजशास्त्रको दोस्रो सेमेस्टरको परीक्षा गत मंगलबार हतारमा रद्द गर्नुपर्‍यो। विद्यार्थीहरूले हातमा पाएको प्रश्नपत्र देखेर छक्क परे। विद्यार्थीले प्रश्नपत्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट तयार पारिएको र त्यसमा प्रश्नको सट्टा सिद्धान्त र उत्तर मात्र लेखिएको आरोप लगाएका छन्।

तालिका अनुसार ‘भारतीय समाज’ सम्बन्धी समाजशास्त्रको पेपर स्थानीय समय अनुसार दिउँसो ३ बजेदेखि ६ बजेसम्म तोकिएको थियो। विद्यार्थी परीक्षा हलमा बसिरहेका थिए। निरीक्षकले प्रश्नपत्र वितरण गर्ने बित्तिकै कक्षाकोठामा हल्लाखल्ला भयो। विद्यार्थीले याद गरे कि सम्पूर्ण पेपरमा कुनै प्रश्न वा बहुविकल्पीय विकल्पहरू (एमसिक्यु) थिएनन्। बरु त्यहाँ एआई उपकरणबाट सिधै प्रतिलिपि गरिएका जस्ता लामो सिद्धान्त र अनुच्छेद मात्र थिए।

परीक्षा हलमा उपस्थित एक विद्यार्थीले भने, ‘अधिकारीले हामीबाट प्रश्नपत्र फिर्ता लिए र यो कुरा बाहिर कसैसँग साझा नगर्न निर्देशन दिए। उनीहरूले केवल परीक्षा अब जुन २७ मा हुने बताए।’ यो अचानकको निर्णय र विश्वविद्यालयको गोपनीयता राख्ने प्रयासबाट आक्रोशित विद्यार्थी प्रशासन कार्यालय बाहिर भेला भएर जवाफ माग गरे।

एनएसयुआईका पदाधिकारी मनीष मेघवंशीले समाजशास्त्र विभागको दोस्रो सेमेस्टरको ‘भारतीय समाज’ को पेपरमा उल्लेखनीय विसंगति भेटिएपछि प्रशासनले तुरुन्तै पेपर फिर्ता बोलाएर परीक्षा रद्द गरेको बताए।

थप चिन्ता व्यक्त गर्दै मेघवंशीले भने, ‘विद्यार्थी गहिरो रूपमा स्तब्ध छन् कि विश्वविद्यालयको मुख्य परीक्षाका पेपर पनि अब कुनै मानव प्रमाणीकरण बिना नै एआई प्रयोग गरेर तयार पारिएको छ।’ विश्वविद्यालयले यो प्राविधिक त्रुटिको अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ६ असार २०८३ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App