अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी टिभी च्यानल एनबिसीसँग अन्तर्वार्ताका क्रममा रिसाउँदै बिचमै छाडेका छन्।
कार्यक्रमकी प्रस्तोता क्रिस्टन वेल्करले ट्रम्पका विभिन्न दाबीमाथि पटकपटक प्रश्न उठाएकी थिइन्। आइतबार प्रसारित भएको ‘मिट द प्रेस’ कार्यक्रममा ट्रम्पले क्यालिफोर्नियामा भइरहेको प्राथमिक निर्वाचन (प्राइमरी) र सन् २०२० को अमेरिकी राष्ट्रपति चुनाव दुवै ‘धाँधलीपूर्ण’ भएको दाबी गरेका थिए।
जब वेल्करले क्यालिफोर्नियाको चुनावमा धाँधली भएको दाबीलाई पुष्टि गर्ने प्रमाण मागिन्, ट्रम्पले भने, ‘मलाई त हेर्नु र सुन्नु मात्रै पर्याप्त छ।’
प्रत्युत्तरमा पत्रकार वेल्करले ‘त्यो प्रमाण होइन’ भनेकी थिइन्।
त्यसपछि ट्रम्पले सञ्चारमाध्यमलाई ‘बेइमान’ भएको आरोप लगाए र अन्तर्वार्ता टुंग्याउँदै भने, ‘माफ गर्नुहोस्, अब यसलाई यतिमै अन्त्य गरौं। मेरा लागि धेरै भयो।’
कुरा कहाँबाट बिग्रियो ?
परम्परागत सञ्चारमाध्यमसँग ट्रम्पको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ। उनले प्राय: सञ्चारमाध्यमले आफूविरुद्ध पक्षपातपूर्ण व्यवहार गर्ने गरेको आरोप लगाउँदै आएका छन्।
यो अन्तर्वार्ता विस्कन्सिनमा किसानहरूको एक कार्यक्रमका क्रममा गोठभित्र रेकर्ड गरिएको थियो। प्राविधिक समस्या र धातुको छानामाथि ठुलो वर्षाको आवाजका कारण रेकर्डिङ पटकपटक अवरुद्ध भएको थियो।
एनबिसीका अनुसार ट्रम्पले अन्तर्वार्ता सुरु भएको करिब ५० मिनेटपछि बिचमै छाडेका थिए। अन्तर्वार्ताको अधिकांश भाग इरानसँगको तनाव र सम्भावित द्वन्द्वमा केन्द्रित थियो।
वेल्करका प्रश्नहरूको जवाफमा ट्रम्पले इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्न अमेरिका सक्रिय हुनुपर्ने र यो ‘अन्त्यहीन युद्ध’ नहुने दाबी गरे। उनले भने, ‘हामी त्यहाँ केही महिनाका लागि रहने छौं र त्यसपछि खतरा धेरै हदसम्म समाप्त हुनेछ।’
‘उनीहरू बेइमान छन्, ठीक तपाईंजस्तै’
अन्तर्वार्ता त्यसपछि सन् २०२० को राष्ट्रपतीय चुनावतर्फ मोडिएको थियो। ट्रम्पले पुन: कुनै प्रमाणविना चुनावमा धाँधली भएको पुरानो दाबी दोहोर्याए, जसलाई वेल्करले चुनौती दिइन्।
ट्रम्पले त्यसपछि क्यालिफोर्नियाको प्राथमिक निर्वाचनको उल्लेख गरे, जहाँ नोभेम्बरमा हुने मध्यावधि निर्वाचनका लागि उम्मेदवार छनोट गर्न मतगणना जारी थियो। उनले भने, ‘चार दिन बितिसक्दा पनि नतिजा आएको छैन। उनीहरू चुनावमा धाँधली गरिरहेका छन्।’
यसमा वेल्करले सोधिन्, ‘के यसको तपाईंसँग कुनै प्रमाण छ ?’
ट्रम्पले जवाफ दिए, ‘मलाई त हेर्नु र सुन्नु मात्रै काफी छ।’
वेल्करले तुरुन्तै भनिन्, ‘तर त्यो कुनै प्रमाण होइन।’
क्यालिफोर्नियामा अन्तिम नतिजा आउन प्राय: लामो समय लाग्ने गर्छ, किनभने त्यहाँ मतगणनाको प्रक्रिया विस्तृत छ र हुलाकमार्फत मतदान (मेल–इन ब्यालेट) को व्यापक प्रयोग गरिन्छ।
‘मेल–इन मतदान’ लाई ट्रम्पले आलोचना गर्दै आएका छन्। ट्रम्पले त्यसपछि भने, ‘उनीहरू बेइमान छन्, ठीक तपाईंजस्तै।’
यसमा वेल्करले जवाफ दिइन्, ‘निष्पक्षताका लागि भन्नुपर्दा म बेइमान छैन, तर आउनुहोस्, कुराकानी जारी राखौं।’ ट्रम्पले त्यसपछि भने, ‘या त तपाईं बेइमान हुनुहुन्छ, या मूर्ख।’
केही थप चर्को बहसपछि ट्रम्पले भने, ‘अब यसलाई (अन्तर्वार्ता) यतिमै समाप्त गरौं। मेरा लागि धेरै भयो। धन्यवाद डार्लिङ, तपाईंको दिन शुभ रहोस्।’
वेल्करले अन्तर्वार्ता जारी राख्ने प्रयास गरिन्, तर ट्रम्पले बिचमै रोक्दै भने, ‘म तपाईंसँग एक घन्टासम्म पानी परिरहेको बेला पनि बसें। मैले तपाईंलाई पर्याप्त समय दिएको छु।’उनले थपे, ‘तपाईंले आफ्नो प्रेसलाई सुधार्नुपर्छ। किनकि यदि कुनै देशको प्रेस बेइमान छ भने त्यो देश कहिल्यै महान् बन्न सक्दैन।’
त्यसपछि उनले क्यामेरापछाडि रहेका व्यक्तिहरूतर्फ इंगित गर्दै भने, ‘ल, अब जाऔं।’ उनी उठेर सेटबाट बाहिरिए।
अन्तर्वार्ता प्रसारण भएपछि वेल्करले भनिन्, ‘शनिबार राष्ट्रपति ट्रम्पसँग मेरो कुरा भएको थियो। हामी दुवैले वर्षाका कारण अन्तर्वार्तामा धेरै व्यावहारिक कठिनाइ आएको स्वीकार गरेका थियौं। उनी ‘मिट द प्रेस’ का लागि फेरि एकपटक बसेर कुराकानी गर्न सहमत भएका छन्।’ बिबिसी
प्रकाशित: २६ जेष्ठ २०८३ ०९:०० मंगलबार





