भारत ओडिशाको केओंझारमा सोमबार एउटा अचम्मलाग्दो घटना घटेको छ। एक आदिवासी पुरुष जितु मुन्डा आफ्नी मृत बहिनीको कंकाल बोकेर बैंकमा पुगे। कंकाल देखेपछि बैंकमा खैलाबल्ला मच्चियो।
जितु आफ्नी बहिनी कालरा मुण्डाको खाताबाट २० हजार भारतीय रुपैयाँ निकाल्न चाहन्थे, र त्यसो गर्न उनी धेरै पटक बैंक गए। तर, कर्मचारीहरूले उनलाई खातावालालाई नै ल्याउन भनेर पठाइदिन्थे।
जितुले कालाराको मृत्युको बारेमा बैंकलाई पहिले नै जानकारी गराइसकेका थिए। निराश भएका उनले बैंकबाट कुनै सहयोग पाएनन्। उनले चिहानबाट कंकाल निकालेर बैंकलाई बुझाए।
आफ्नी बहिनीको कंकाल काँधमा बोकेर जितु लगभग तीन किलोमिटर हिँडे। त्यसपछि, उनले त्यो कंकाललाई मल्लीपासीमा रहेको ओडिशा ग्रामीण बैंक शाखाको बरन्डामा राखे। त्यहाँ रहेका मानिसहरू छक्क परे।
प्रहरीका अनुसार जितु अशिक्षित थिए र कानुनी प्रक्रियाको बारेमा अनभिज्ञ थिए। स्टेशन हाउस अफिसर किरण प्रसाद साहुले भने, 'जितुलाई कानुनी उत्तराधिकारी वा मनोनीत व्यक्ति के हो भन्ने थाहा छैन। बैंकका अधिकारीहरूले पनि उनलाई मृतकको खाताबाट पैसा निकाल्ने प्रक्रिया बुझाउन सकेनन्।' प्रहरीले जितु मुन्डालाई उनकी मृतक बहिनीको बैंक खाताबाट पैसा निकाल्न मद्दत गर्ने आश्वासन दियो। पछि प्रहरीको उपस्थितिमा शवलाई चिहानमा पुन: गाडियो।
डियानाली गाउँका बासिन्दा जितु मुण्डाले बैंकमा ल्याएको कंकाल उनकी जेठी बहिनी कालरा मुण्डा थिइन्। कालराको मृत्यु जनवरी २६, २०२६ मा भयो। कालरा मुण्डाको बैंक खातामा मनोनीत उनका पति र छोराको पनि मृत्यु भइसकेको छ। त्यसैले, जितु मुण्डा उनीहरूको नाममा जम्मा भएको पैसाको एक मात्र दाबीकर्ता हुन्। आर्थिक कठिनाइका कारण यो पैसा उनीहरूका लागि महत्वपूर्ण थियो र बाँच्ने माध्यम मानिन्थ्यो।
प्रकाशित: १५ वैशाख २०८३ १५:३६ मंगलबार





