अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको वार्ताबाट अलग गर्दै घरेलु राजनीतिक मुद्दामा केन्द्रित हुन निर्देशन दिएपछि तेहरानमा यस कदमको प्रभावबारे बहस सुरु भएको छ।
विश्लेषकहरूका अनुसार यसले अमेरिका–इरानबीच कूटनीतिक समाधानको सम्भावना कमजोर बनाउँदै सैन्य द्वन्द्वको जोखिम थप बढाउन सक्छ।
इरानले भान्सलाई ट्रम्प प्रशासनभित्र तुलनात्मक रूपमा व्यावहारिक र वार्ताबाट समाधान खोज्न सक्ने व्यक्तिका रूपमा हेर्दै आएको थियो।
तर ट्रम्पले बिहीबार ट्रुथ सोसलमार्फत भान्सलाई डेमोक्र्याटहरूविरुद्ध कथित भ्रष्टाचारका मुद्दामा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्। उनले इरानसँगको सम्झौता अहिले अमेरिकी सरकारको प्राथमिकतामा नरहेको संकेतसमेत गरेका छन्।
तेहरान विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक नासेर हाडियानका अनुसार ट्रम्पको यो कदम घरेलु राजनीतिक रणनीतिसँग जोडिएको छ।
मध्यावधि चुनावमा रिपब्लिकनहरूको कमजोर प्रदर्शनपछि ट्रम्पले डेमोक्र्याटहरूसँग राजनीतिक संघर्ष तीव्र बनाउन खोजेको उनको विश्लेषण छ।
तर यसले इजरायललाई पनि फाइदा पुग्न सक्छ। इजरायलले इरानमाथि थप सैन्य कारबाहीको पक्षमा दबाब दिइरहेको बताइन्छ।
भान्सले युद्धका कारण रिपब्लिकनहरू चुनावमा कमजोर भएको स्वीकार गरेपछि उनलाई वार्ताबाट हटाउनु इरानमाथि कठोर नीति अपनाउने संकेतका रूपमा पनि हेरिएको छ।
भान्सको भूमिका किन महत्वपूर्ण थियो ?
अमेरिकी प्रशासनभित्र भान्स युद्धको आर्थिक लागत, जनमतमा बढ्दो विरोध र क्षेत्रीय अस्थिरतालाई ध्यानमा राख्दै कूटनीतिक समाधानको पक्षमा रहेको विश्वास गरिन्छ।
जुन महिनामा इरानसँग भएको वार्तामा राष्ट्रपति ट्रम्पका विशेष दूत जारेड कुशनर र स्टिभ विटकफले पनि भान्सलाई समर्थन गरेका थिए। त्यसबेला भएको समझदारीले केही समयका लागि युद्धको तनाव घटाएको र हर्मुज जलमार्गमा जहाज आवागमन पुनः सुरु गर्न सहयोग गरेको थियो।
यसको विपरीत अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानप्रति कठोर दृष्टिकोण राख्दै आर्थिक प्रतिबन्ध, दबाब र अन्तर्राष्ट्रिय एक्लोपनमार्फत तेहरानलाई कमजोर बनाउने रणनीतिमा जोड दिएका छन्।
रक्षा सचिव पिट हेगसेथ र अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कूपर पनि इरानविरुद्ध थप सैन्य कारबाहीको पक्षमा रहेको बताइएको छ।
इरानलाई अमेरिकी प्रतिबद्धतामाथि विश्वास छैन
अमेरिकी वार्ताबाट भान्स अलग भएपछि इरानले वाशिंगटनसँग भविष्यमा हुने कुनै पनि सम्झौताको विश्वसनीयतामाथि थप प्रश्न उठाउन थालेको छ।
अरब सेन्टर फर इरानी स्टडीजका निर्देशक मोहम्मद सालेह सेदघियानका अनुसार इरानको मुख्य चिन्ता सम्झौता गर्ने व्यक्ति मात्र होइन, त्यसलाई अमेरिकाले कार्यान्वयन गर्छ कि गर्दैन भन्ने हो।
‘यदि मोहसेन रेजाइले भान्ससँग बसेर सम्झौता गरे पनि ट्रम्पले त्यसलाई कार्यान्वयन गर्ने ग्यारेन्टी के छ?’ उनले प्रश्न गरेका छन्।
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले यसअघि भान्ससँग सम्भावित प्रत्यक्ष भेटघाट र वार्तामा प्रगति भइरहेको दाबीलाई अस्वीकार गरेका थिए।
उनले अमेरिकी प्रशासनभित्रको राजनीतिक अवस्थालाई समेत आलोचना गर्दै युद्ध र चुनावी पराजयको जिम्मेवारी वाशिंगटनमाथि थोपरेका थिए।
प्रतिबन्ध र नाकाबन्दीले बढाउँदै आर्थिक संकट
इरानमाथि जारी अमेरिकी आर्थिक दबाब र समुद्री नाकाबन्दीले तेहरानलाई सैन्य संघर्षभन्दा पनि दीर्घकालीन आर्थिक संकटमा धकेल्न सक्ने विश्लेषकहरूको भनाइ छ।
सेदघियानका अनुसार युद्धविराम नभएको र वार्ताबाट समाधान ननिस्किएको वर्तमान अवस्था इरानी जनताका लागि अत्यन्त महँगो साबित भइरहेको छ।
‘नाकाबन्दी र अवरोधहरूले इरानी जनताको लागत उल्लेखनीय रूपमा बढाइरहेका छन्। युद्ध पनि नरोकिने र वार्ताबाट समाधान पनि ननिस्कने अवस्था अत्यन्त खतरनाक छ,’ उनले भने।
इरानका सुधारवादी सञ्चारमाध्यमले भान्सको भूमिका पूर्ण रूपमा समाप्त नभएको तर्क गरेका छन्। तर रूढिवादी पत्रिकाहरूले उनलाई वास्तविक युद्धविरोधी व्यक्तित्वका रूपमा चित्रण गर्नु गलत भएको दाबी गरेका छन्।
उनीहरूको भनाइमा अमेरिकी प्रशासनको उद्देश्य कूटनीति, सैन्य शक्ति र आर्थिक दबाबको संयोजनमार्फत इरानलाई आफ्नो सर्त स्वीकार गर्न बाध्य पार्नु हो।
हर्मुजमा तनाव थप चर्किँदै
यसबीच अमेरिका र इरानबीच हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर तनाव जारी छ। जहाजहरू, सैन्य प्रतिष्ठानहरू र समुद्री मार्गहरूमा आक्रमण तथा प्रतिकारका घटनाहरू बढिरहेका छन्।
युनाइटेड किंगडमको मेरिटाइम ट्रेड अपरेशन्सका अनुसार पछिल्लो साप्ताहिक प्रतिवेदनमा जलडमार्ग र आसपासका क्षेत्रमा आठवटा सुरक्षा घटना उल्लेख गरिएका छन्।
हप्ताभरि हर्मुजबाट १३९ वटा बाहिरिने र १६९ वटा भित्रिने जहाजको आवागमन रेकर्ड भएको थियो। यो युद्धअघि सामान्य अवस्थामा हुने आवागमनभन्दा करिब ६५ प्रतिशत कम हो।
भान्स बाहिरिए पनि अमेरिकी रणनीति बदलिने सम्भावना कम
प्राध्यापक हाडियानका अनुसार इरानका निर्णयकर्ताहरूले वर्तमान आर्थिक र समुद्री दबाबलाई अनिश्चितकालसम्म सहन सक्ने अवस्था छैन।
नाकाबन्दी थप कडा हुँदै गएमा र समुद्री मार्ग, स्थल सीमा तथा हवाई आवागमनमा अवरोध बढेमा सैन्य द्वन्द्व पुनः सुरु हुने सम्भावना पनि बढ्न सक्छ।
यद्यपि भान्सलाई वार्ताबाट हटाउँदैमा अमेरिकी रणनीतिमा ठूलो परिवर्तन आउने सम्भावना कम रहेको उनको भनाइ छ।
‘अमेरिकाले भान्ससँग वा भान्सबिना पनि यही रणनीति अपनाउने थियो। मलाई विश्वास छ, उसले आगामी दिनमा पनि आर्थिक दबाब जारी राख्नेछ,’ हाडियानले भने।
प्रकाशित: २९ कार्तिक २०८३ १४:५७ आइतबार





