अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकलाई पाँच हजार डलर दिने घोषणा गरेका छन्।
आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले जिते यस्तो रकम दिइने उनले बताएका हुन्। यसका लागि रिपब्लिकनले प्रतिनिधि सभा (हाउस अफ रेप्रिजेन्टेटिभ्स) र सिनेट दुवैमा नियन्त्रण कायम राख्नुपर्नेछ। त्यसपछि प्रत्येक अमेरिकी वयस्क नागरिकलाई पाँच हजार डलर दिइने ट्रम्पले बताएका छन्। उनले यसलाई ‘ट्रम्प लाभांश’ नाम दिएका छन्।
ट्रम्पले बुधबार डलासमा आयोजित रिपब्लिकन मध्यावधि सम्मेलनमा यस्तो घोषणा गरेका हुन्। त्यसको एक दिनपछि उनले सीबीएस न्यूजसँगको अन्तर्वार्तामा लाभांश दिन कंग्रेसको स्वीकृति आवश्यक नपर्ने आफूलाई लागेको बताए। आवश्यक परे कंग्रेसले स्वीकृति दिने उनको भनाइ छ।
ट्रम्पले अमेरिकाले ट्यारिफबाट ठुलो रकम संकलन गरिरहेको बताए। सोही रकमबाट नागरिकलाई लाभ दिन सकिने उनको भनाइ छ। उनले योजनालाई ‘महान लगानी’ भएको बताए। लाभांशको रकम अमेरिकामै खर्च गर्नुपर्ने पनि उनले बताए। उक्त पैसा अन्य देशमा खर्च भएको आफूले नचाहेको उनले बताए।
प्रत्येक वयस्क अमेरिकीलाई पाँच हजार डलर दिँदा सरकारलाई एक ट्रिलियन डलरभन्दा बढी खर्च हुन सक्छ। अमेरिकाको राष्ट्रिय ऋण पनि ४० ट्रिलियन डलर नाघिसकेको छ। त्यसैले योजनामाथि आर्थिक प्रश्न उठेको छ। ठुलो रकम वितरण गर्दा सरकारी घाटा थप बढ्न सक्छ। मुद्रास्फीतिमा समेत दबाब पर्न सक्ने अर्थविद्हरूले बताएका छन्।
ट्रम्पले कंग्रेसको स्वीकृति आवश्यक नपर्ने बताएका छन्। तर विज्ञहरूले यस्तो रकम वितरणका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्ने बताएका छन्। यसकारण योजनाको कानुनी आधारबारे पनि प्रश्न उठेको छ। कंग्रेसको स्वीकृतिबिना ट्रम्पले यस्तो रकम वितरण गर्न सक्ने अधिकारबारे स्पष्टता छैन।
ट्रम्पले ट्यारिफबाट उठेको रकमबाट लाभांश दिन सकिने संकेत गरेका छन्। उपराष्ट्रपति जेडी भान्सले पनि योजनालाई ट्यारिफबाट प्राप्त आम्दानीको लाभ अमेरिकी नागरिकलाई दिने रूपमा व्याख्या गरेका छन्।
तर प्रस्तावित पाँच हजार डलरको भुक्तानीका लागि आवश्यक रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन। रकम कहिले र कसरी वितरण गर्ने भन्नेबारे पनि विस्तृत योजना सार्वजनिक भएको छैन।
ट्रम्पले यसअघि पनि ट्यारिफबाट प्राप्त आम्दानी अमेरिकी नागरिकलाई बाँड्ने विषयमा चर्चा गरेका थिए। यसपटक भने उनले आगामी मध्यावधि चुनावमा रिपब्लिकनले जिते पाँच हजार डलर दिने घोषणा गरेका हुन्। एजेन्सीको सहयोगमा
प्रकाशित: २६ भाद्र २०८३ ०७:०४ शुक्रबार





