१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्लाईदुबई विमान प्रकरणमा युएईले के भन्यो ?

फाइल तस्बिर : फ्लाईदुबई विमान र युएईका महान्यायाधिवक्ता हमद सैफ अल शम्सी

बुधबार इजरायलको तेल अभिभतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानमा दुई पाइलटबिच भएको झगडाबारे संयुक्त अरब इमिरेट्स (युएई) ले अनुसन्धान थालेको छ।

युएईको विदेश मन्त्रालयले बिहीबार घटनालाई नजिकबाट नियालिरहेको जनाएको हो। मन्त्रालयका अनुसार युएईका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले घटनाको अनुसन्धान गर्न विशेष सरकारी वकिलहरूको टोली गठन गर्न आदेश दिएका छन्।

टोलीले घटनाको परिस्थिति र कारण पत्ता लगाउनुका साथै यससँग सम्बन्धित तथ्यहरू संकलन गर्नेछ। फ्लाईदुबईले उडानका क्रममा ककपिटमा झगडा भएको र त्यसपछि विमानमा रहेका चालक दलका सदस्यहरूले हस्तक्षेप गरी विमानलाई सुरक्षित बनाएको बताएपछि अनुसन्धान सुरु गरिएको मन्त्रालयले जनाएको छ।

युएईका न्यायिक अधिकारीसँग घटनाको अनुसन्धान गर्ने अधिकार रहेको बताइएको छ। विमान युएईमा दर्ता भएकाले देशबाहिर उडिरहेको अवस्थामा पनि विमानभित्र भएका अपराधमा युएईको कानुन लागू हुने मन्त्रालयले जनाएको छ।

अनुसन्धानले घटना कुनै ‘आतंकवादी गतिविधि वा मनसाय’सँग जोडिएको थियो कि थिएन तथा यसमा पूर्वयोजना वा कसैको निर्देशन थियो कि थिएन भन्ने विषय पनि हेर्नेछ।

दुबईबाट तेल अभिभका लागि उडेको एफजेड-१०७३ विमानमा १७४ जना यात्रु थिए। ककपिटमा झगडा भएको सूचना आएपछि विमानलाई साउदी अरेबियाको उत्तरपश्चिमी सहर ताबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो।

घटनामा भारतीय क्याप्टेन स्मित माच्छार घाइते भएका थिए। उनलाई ताबुकस्थित अस्पताल लगिएको र अवस्था स्थिर रहेको भारतीय दूतावासले जनाएको छ।

अर्का को-पाइलट ओमानका नागरिक भएको र उनलाई साउदी अधिकारीहरूले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ। ककपिटमा झगडा भएपछि विमानमा रहेका यात्रु र चालक दलका सदस्यहरूले हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएका थिए।

साउदी अरेबियाको राष्ट्रिय यातायात सुरक्षा केन्द्रले पनि घटनाबारे सुरक्षा अनुसन्धान सुरु गरेको जनाएको छ। केन्द्रको टोलीले सम्बन्धित निकायसँग समन्वय गरी घटनाको परिस्थिति, उड्डयन सुरक्षासम्बन्धी पक्ष तथा आवश्यक प्रमाण र जानकारी संकलन गरिरहेको छ।

घटनापछि यात्रुहरूलाई फ्लाईदुबईले उपलब्ध गराएको अर्को विमानमार्फत ताबुकबाट तेल अभिभ पठाइएको थियो। युएईको विदेश मन्त्रालयले घटनाको व्यवस्थापन र अनुसन्धानमा सहयोग गरेको भन्दै साउदी अधिकारीलाई धन्यवाद दिएको छ।

युएईले अनुसन्धान पूरा नभएसम्म अनुमान वा अप्रमाणित सूचना नफैलाउन र आधिकारिक स्रोतबाट आएको जानकारीमा मात्र भर पर्न आग्रह गरेको छ।

प्रकाशित: १५ आश्विन २०८३ १९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App