बंगलादेशको गोपालगञ्जमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले जिल्लाका प्रमुख प्रशासकीय अधिकारी (डिपुटी कमिस्नर) र प्रहरी प्रमुख (एसपी) लाई पदबाट हटाएको छ।
आइतबार भएको प्रदर्शनका क्रममा भारतमा रहेकी शेख हसिनाको पार्टी अवामी लिगका नेता तथा समर्थकहरूले प्रदर्शन गरेका थिए। बंगलादेशमा अवामी लिगको गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ।
प्रदर्शनकारीले पार्टीको जिल्ला कार्यालय कब्जा गरी तोडफोड गरेका थिए। उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा आगजनी गर्नुका साथै प्रहरीको एउटा गाडीमा समेत आगो लगाएको खबर छ।
सहरका अन्य स्थानमा पनि तोडफोड भएको थियो। प्रहरीको एउटा गाडीमा ‘जय बंगल’ लेखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रदर्शनकारीले टायर बालेर स्थानीय सडकसमेत अवरुद्ध गरेका थिए।
प्रदर्शनका क्रममा गोपालगञ्ज सरकारी कलेजको नामपट्टी हटाएर पुरानो नाम ‘गभर्मेन्ट बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखिएको थियो। सन् २०२४ अगस्टमा अवामी लिग सरकार ढलेपछि कलेजको नाम परिवर्तन गरी गोपालगञ्ज सरकारी कलेज राखिएको थियो।
दिनभर चलेको प्रदर्शनपछि सरकारले गोपालगञ्जका डिपुटी कमिस्नर मोहम्मद आरिफ उज जमान र प्रहरी उपरीक्षक (एसपी) मोहम्मद हबिबुल्लाहलाई पदबाट हटाएको हो।
भारतबाट शेख हसिनाको सम्भावित स्वदेश फिर्तीको विषयलाई लिएर तनाव बढिरहेका बेला यी प्रदर्शन भएका हुन्। सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि आफ्नो सरकार ढलेसँगै हसिना बंगलादेश छाडेर भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्।
बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सन् २०२५ नोभेम्बरमा प्रदर्शनकारीविरुद्ध उनको सरकारले गरेको कारबाहीलाई मानवताविरुद्धको अपराध ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले आफूमाथिका आरोप र सम्पूर्ण कानुनी प्रक्रियालाई अस्वीकार गर्दै आएकी छन्।
७९ वर्षीया हसिनाले जुलाईदेखि नै पटकपटक आफू डिसेम्बरमा बंगलादेश फर्किन चाहेको बताउँदै आएकी छन्। मृत्युदण्डको सजाय सुनाइए पनि कानुनी प्रक्रियाको सामना गर्ने उनको भनाइ छ।
प्रकाशित: ३० कार्तिक २०८३ १२:३२ सोमबार



-600x400.jpg)

