युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हंगेरीका प्रधानमन्त्री पिटर म्याग्यार र विद्यार्थीसँगै भलिबल खेलेका छन्।
उनीहरूले भलिबल खेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
मंगलबार युक्रेनको जाकार्पाटिया क्षेत्रस्थित बेरेहोभ सहरको लायोस कोसुथ लाइसेयम पुगेका जेलेन्स्की र म्याग्यारले विद्यालयको स्तरोन्नति गरिएको खेलकुद भवनको अवलोकनपछि विद्यार्थीसँग भलिबल खेलेका थिए।
खेलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीले भलिबलमा पुनः खेल (रिम्याच) खेल्न बाँकी रहेको भन्दै बुडापेस्ट जाने विषयमा ठट्टा गरेका थिए। त्यसपछि म्याग्यारले उनलाई बुडापेस्ट भ्रमणको औपचारिक निम्तो दिएका थिए।
विद्यालयमा ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यहाँ मुख्य रूपमा हंगेरी भाषामा पढाइ हुने भए पनि युक्रेनी र अंग्रेजी भाषा पनि सिकाइन्छ।
दुवै नेताको विद्यालय भ्रमण हंगेरीका प्रधानमन्त्रीको युक्रेन भ्रमणका क्रममा भएको हो। भ्रमणमा उनीहरूले अस्पतालको अवलोकन गर्नुका साथै ऊर्जा सहकार्य, पूर्वाधार विकास र मानवीय सहयोगबारे छलफल गरेका थिए।
युक्रेन विगत करिब पाँच वर्षदेखि रुससँग युद्धमा रहेको छ।
प्रकाशित: ९ मंसिर २०८३ ०८:४४ बुधबार





