इन्डोनेसियाका उपराष्ट्रपति जिब्रान राकाबुमिङ राकाले शैक्षिक योग्यतामाथिको विवाद चर्किएपछि राजीनामा दिएका छन्।
संवैधानिक अदालत र सर्वोच्च अदालतका फैसलापछि जिब्रानमाथि महाभियोगको दबाब पनि बढ्दै गएको थियो।
अदालतले उनको विदेशी शिक्षासम्बन्धी कागजातले उपराष्ट्रपति उम्मेदवारका लागि आवश्यक शैक्षिक योग्यता प्रमाणित नगरेको निष्कर्ष निकालेको थियो।
पूर्वराष्ट्रपति जोको विडोडोका छोरा जिब्रानले विदेशमा गरेको माध्यमिक तहको अध्ययनसम्बन्धी कागजातले उपराष्ट्रपति उम्मेदवारका लागि आवश्यक कानुनी योग्यता पूरा गर्छ कि गर्दैन भन्ने विषयमा लामो समयदेखि विवाद सामना गर्दै आएका थिए।
जिब्रानले भने आफ्नो राजीनामा शैक्षिक कागजातको कमजोरी स्वीकार गरेको अर्थमा नभएको बताएका छन्। उनले राजनीतिक विवाद कम गर्न र सरकारलाई अगाडि बढ्न सहज बनाउन राजीनामा दिएको बताएका छन्।
राष्ट्रपति प्रबोवो सुबियान्तोले पनि जिब्रानको राजीनामा स्वीकार गरेका छन्। उनले जिब्रानले राष्ट्रको हितलाई ध्यानमा राखेर निर्णय गरेको बताएका छन्।
अब इन्डोनेसियाको संसद्ले रिक्त उपराष्ट्रपति पदका लागि प्रक्रिया अघि बढाउनेछ। राष्ट्रपतिले प्रस्ताव गरेका दुई उम्मेदवारमध्ये एकलाई ६० दिनभित्र नयाँ उपराष्ट्रपति चयन गरिनेछ।
जिब्रानको राजीनामालाई राष्ट्रपति प्रबोवो र पूर्वराष्ट्रपति जोकोवीबिच बढ्दै गएको राजनीतिक दूरीसँग पनि जोडेर हेरिएको छ। तर जोकोवीले आफूले अझै पनि प्रबोवोको सरकारलाई समर्थन गर्ने बताएका छन्।
प्रकाशित: २७ कार्तिक २०८३ ११:०४ शुक्रबार





