भेनेजुएलामा शक्तिशाली भूकम्पपछि भवन भत्किँदा भग्नावशेषमा पुरिएकी एक महिलाको सकुशल उद्दार गरिएको छ। उद्दारपछि उनले आफूले भोगेको भयावह क्षणबारे जानकारी दिएकी छन्।
ला ग्वाइरा क्षेत्रमा भएको घटनामा ती महिला भवन भत्किन थालेपछि ज्यान जोगाउन ढोकाको फ्रेम समातेर बसेकी थिइन्। उनका अनुसार भूकम्प सुरु हुनेबित्तिकै उनले निकै बल गरेर ढोकाको चौकोट समातेकी थिइन्, जसका कारण उनको औँलासमेत भाँचिएको थियो।
उद्धारपछि स्ट्रेचरमा रहेकै अवस्थामा सञ्चारकर्मीसँग उनले आफूले भवनका सबै तलाहरू भत्किँदासम्म ढोकाको फ्रेम नछोडेको बताइन्।
उनले भनिन् कि भग्नावशेषभित्र संघर्ष गरिरहेकै बेला कसैले आफ्नो हात देखेपछि समातेर उद्धार गरेको हो।
घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा उद्धारको संवेदनशील दृश्य देख्न सकिन्छ।
भेनेजुएला भूकम्पमा परी अहिलेसम्म २३५ जनाको मृत्यु पुष्टि भएको छ। करिब ४ हजार ३ सय घाइते भएका छन्। केहीको अवस्था अझै अज्ञात रहको र उद्दार कार्य जारी राखेको भेनेजुएला सरकारले उल्लेख गरेको छ।
प्रकाशित: १२ असार २०८३ १४:२२ शुक्रबार





