मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता आइतबार औपचारिक रूपमा सुरु भएको छ। कतार र पाकिस्तानको मध्यस्थतामा स्विट्जरल्यान्डमा भइरहेको वार्ताले हालै सम्पन्न प्रारम्भिक शान्ति समझदारी (एमओयु) लाई अन्तिम रूप दिने तथा त्यसको कार्यान्वयन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
कतारको विदेश मन्त्रालयले वार्ता औपचारिक रूपमा सुरु भएको पुष्टि गर्दै अन्तिम शान्ति सम्झौताका सबै पक्षमा सहमति जुटाउन प्राविधिक तथा विशेषज्ञ समूह गठन गरिएको जनाएको छ। ती समूहले युद्धविराम, क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध, तेल निर्यात तथा अन्य संवेदनशील विषयमा विस्तृत छलफल गर्नेछन्।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले वार्तामा आफ्नो मुख्य उद्देश्य युद्ध अन्त्यसम्बन्धी प्रारम्भिक सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्नु रहेको जनाएको छ।
इरानले विशेषगरी लेबनानमा इजरायलका सैन्य कारबाही जारी रहेसम्म शान्ति प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्ने अडान दोहोर्याएको छ। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने उनको वार्ता टोलीमा ट्रम्प प्रशासनका उच्च सुरक्षा तथा कूटनीतिक अधिकारीहरू पनि वार्तामा सहभागी छन्।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार स्विट्जरल्यान्ड वार्तामा लेबनानको अवस्था सबैभन्दा महत्त्वपूर्ण विषय हुनेछ। त्यससँगै इरानी सम्पत्ति फुकुवा, तेल बिक्री पुनः सञ्चालन, आर्थिक प्रतिबन्धको खुकुलोपना तथा प्रारम्भिक शान्ति सम्झौता उल्लंघनबारे पनि छलफल हुनेछ।
इरानी राष्ट्रपति मसुद पेजेसकियनले कतारमा रोक्का राखिएको करिब ६ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति प्रारम्भिक सम्झौताअनुसार फिर्ता गरिने बताएका छन्। साथै इरानको तेल निर्यातमाथि लगाइएका प्रतिबन्ध तथा जफत गरिएका सम्पत्तिको विषय पनि वार्ताको महत्त्वपूर्ण एजेन्डा बनेको छ।
इजरायलले लेबनानमा निरन्तर आक्रमण गरिरहेकाले हर्मुज जलडमरू इरानले पुनः बन्द गरेको दाबी गरेको थियो तर अमेरिकी सेनाले भने अन्तर्राष्ट्रिय जलमार्ग सबै जहाजका लागि खुला रहेको जनाएको छ। हर्मुज जलडमरू विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको अवस्थालाई विश्व समुदायले चासोपूर्वक हेरिरहेको छ।
इरानी राष्ट्रपतिको कार्यालयका सञ्चार तथा सूचना उपप्रमुख सैयद मेहदी तबाताबाईले लेबनानमा इजरायली आक्रमण जारी रहे सम्पूर्ण अमेरिका–इरान शान्ति सम्झौता नै निष्प्रभावी हुन सक्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै ‘लेबनानमा जारी अपराधले सम्पूर्ण सम्झौताको आधार नै समाप्त गर्न सक्छ’ भनेका छन्।
इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर बाघाईले पनि आइतबारको बैठकमा प्रारम्भिक सम्झौताको उल्लंघनका घटनालाई औपचारिक रूपमा उठाइने बताएका छन्। इरानी वार्ता टोलीका एक प्रवक्ताका अनुसार छलफल रातिसम्म जारी रहने सम्भावना भए पनि वार्ता एकै दिनमै सम्पन्न गर्ने तयारी छ।
यसबिच लेबनानमा इजरायल र हिजबुल्लाहबिचको तनाव पूर्णरूपमा समाप्त हुन सकेको छैन। इजरायली रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबनानको तथाकथित सुरक्षा क्षेत्रमा रहेका आफ्ना सैनिकलाई कुनै पनि सम्भावित खतराविरुद्ध कारबाही गर्न पूर्ण अधिकार रहेको बताएका छन्।
पछिल्ला केही दिनमा हिजबुल्लाहका आक्रमणमा कम्तीमा ६ इजरायली सैनिक मारिएका तथा २० जना घाइते भएको जनाइएको छ। अर्कातर्फ इजरायली आक्रमणबाट लेबनानमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका छन्।
उता, गाजामा पनि हिंसा रोकिएको छैन। पछिल्लो २४ घन्टामा इजरायली आक्रमणमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु भएको तथा ४१ जना घाइते भएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसले मध्यपूर्वमा समग्र सुरक्षा अवस्था अझै जटिल रहेको संकेत गरेको छ।
यसैगरी इजिप्टको राजधानी कायरोमा पाकिस्तान, साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूको बैठक सुरु भएको छ। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार उक्त बैठकमा इस्लामाबाद समझदारीको कार्यान्वयन, क्षेत्रीय सुरक्षा अवस्था तथा आपसी सहकार्यका प्राथमिकतामाथि छलफल भइरहेको छ। सहभागी राष्ट्रहरूले संवाद, कूटनीति र क्षेत्रीय समस्याको क्षेत्रीय समाधानप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएका छन।
यो वार्तालाई मध्यपूर्वमा स्थायी शान्ति स्थापनाको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यद्यपि लेबनान र गाजामा जारी हिंसा नियन्त्रणमा नआएसम्म अन्तिम शान्ति सम्झौता कार्यान्वयन चुनौतीपूर्ण रहने विश्लेषकहरूको भनाइ छ। त्यसैले अहिलेको वार्ताको सफलता केवल अमेरिका र इरानबिचको सहमतिमा मात्र नभई क्षेत्रीय द्वन्द्व नियन्त्रण हुने वा नहुने अवस्थामाथि पनि निर्भर रहने देखिएको छ।
(अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशित: ८ असार २०८३ ०९:०३ सोमबार



-600x400.jpg)

