२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले गोरुक र केश्ममा बमबारी गरेको दाबी

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानको गोरुक सहर र केश्म टापुमा रहेका इरानी राडार तथा ड्रोन साइटहरूलाई निशाना बनाएर भीषण हवाई आक्रमण गरेको बताएको छ।

आत्मरक्षाको हवाला दिँदै इरानले अन्तर्राष्ट्रिय जलक्षेत्रमा अमेरिकी ड्रोन खसालेपछि त्यसको जवाफमा यो कारबाही गरिएको उसको दाबी छ। यस आक्रमणमा अमेरिकी सेनाले इरानी वायु रक्षा प्रणाली, एउटा जमिन नियन्त्रण स्टेसन र दुईवटा आत्मघाती ड्रोन ध्वस्त पारेको छ। जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले पनि सिरिक टापुमा भएको आक्रमणको बदला लिन अमेरिकी हवाई अड्डालाई लक्षित गरी प्रतिशोधात्मक हमला गरेको दाबी गरेको छ।

यसैबिच, कुवेतले पनि आफ्नो क्षेत्रमा शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको सूचना दिएको छ।

सैन्य तनावका बिच इरानको आन्तरिक राजनीतिमा ठूलो परिवर्तनको दाबी पनि गरिएको छ। बेलायतस्थित इरान इन्टरनेशनलले इरानका राष्ट्रपति मसूद पजेश्कियानले देशका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीसमक्ष आफ्नो राजीनामा बुझाएको दाबी गरेको हो। समाचार अनुसार पजेश्कियानले देशको सत्ता पूर्ण रूपमा सैन्य संगठन (आईआरजीसी) को नियन्त्रणमा पुगेको उल्लेख गर्दै असन्तुष्टि जनाएका हुन्। गत फेब्रुअरीमा अमेरिका र इजरायलसँग युद्ध सुरु भएदेखि आफ्नो सरकारलाई प्रमुख निर्णयहरूबाट पाखा लगाइएको र वास्तविक शक्ति सैन्य कमाण्डरहरूको हातमा सरेको उनको आरोप छ।

तर इरानी राष्ट्रपतिको कार्यालयले यसलाई अफवाह भन्दै खारेज गरेर राष्ट्रपतिले जनताको सेवा जारी राख्ने दाबी गरेको छ।

यो सैन्य टकरावका बिच पृष्ठभूमिमा अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि गोप्य सन्देश आदानप्रदान र ६० दिने युद्धविरामको प्रयास समेत भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग धेरै राम्रो सम्झौताको नजिक पुगेको बताएका छन्, जसमा इरानले आणविक हतियार नबनाउने र युरेनियम प्रवर्द्धन रोक्नेजस्ता कडा सर्तहरू समावेश छन्।

प्रस्तावित सम्झौता अनुसार हर्मुजको जलमार्गबाट हुने ढुवानी अप्रतिबन्धित हुने, इरानले त्यहाँ राखिएका सबै समुद्री खानीहरू ३० दिनभित्र हटाउनुपर्ने र अमेरिकाले इरानमाथिका प्रतिबन्धहरू खुकुलो पार्दै रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने उल्लेख छ। यो सम्झौता लागू भएमा इजरायलले लेबनानमा गरिरहेको युद्ध पनि अन्त्य हुने बताइएको छ। तर कूटनीतिक विज्ञहरूका अनुसार यो युद्धपछि अमेरिकाको रणनीतिक स्थिति झन् कमजोर बनेको छ।

यसैबिच, इजरायली सेनाले दक्षिणी लेबनानको ९०० वर्ष पुरानो ऐतिहासिक ब्यूफोर्ट किल्ला र वरपरका पहाडहरू कब्जा गरी आफ्नो झण्डा फहराएको छ। २६ वर्षमा लेबनानभित्र इजरायलको यो सबैभन्दा ठूलो सैन्य घुसपैठ हो। गत अप्रिल १७ को युद्धविराम घोषणाका बाबजुद इजरायलले सम्भावित अमेरिका-इरान सम्झौता अगावै हिजबुल्लाहलाई अधिकतम क्षति पुर्‍याउन आक्रमण जारी राखेको छ।

लेबनानमा इजरायलको यो बलियो सैन्य उपस्थितिलाई लिएर फ्रान्सले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ भने अर्कातर्फ अमेरिकाले इरानतर्फ जाँदै गरेका कार्गो जहाजहरूलाई समुद्रमै रोकेर नाकाबन्दी झन् कडा बनाएको छ। एजेन्सी

प्रकाशित: १८ जेष्ठ २०८३ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App