२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानका रडार साइटमा आक्रमण गरेको दाबी

अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ।

यो घटनालाई मध्यपूर्वमा जारी तनाव र कमजोर हुँदै गएको युद्धविरामको बीचमा भएको थप ठूलो तनावको रूपमा हेरिएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीअनुसार शुक्रबार अमेरिकी सेनाले इरानतर्फ प्रक्षेपण गरिएका चार वटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो। ती ड्रोनहरूले होर्मुज जलमार्ग क्षेत्रमा रहेको समुद्री यातायातका लागि तत्काल खतरा उत्पन्न गरेको दाबी गरिएको छ।

सेन्टकमका अनुसार उक्त घटनापछि अमेरिकी सेनाले इरानको गोरेक र कÞश्म टापुमा रहेका तटीय निगरानी रडार साइटहरूलाई निशाना बनाएर आक्रमण गरेको हो।

अमेरिकी पक्षले यो कदम सम्भावित थप आक्रमण रोक्नका लागि गरिएको बताएको छ।

यसैबीच, इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले एक अन्तर्वार्तामा अमेरिका–इरानबीचको सम्भावित शान्ति सम्झौता अहिले स्थगित अवस्थामा रहेको बताए।

उनका अनुसार अमेरिका सरकारले जमेका इरानी सम्पत्तिमा करिब २४ अर्ब अमेरिकी डलर फुकुवा गर्नुपर्ने विषयले वार्तालाई प्रभावित बनाएको छ।

रेजाईले वार्ता अवरुद्ध भएमा स्थिति अझ गम्भीर हुने चेतावनी दिँदै अमेरिकालाई ‘अन्धकारमय अवस्थातर्फ प्रवेश गर्न सक्ने’ बताए। 

उनले वार्ता पुनः अघि बढाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गर्नुपर्ने पनि बताए। अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्तामा इरानी नेतृत्वसँग युद्ध अन्त्य गर्ने कुनै सहमति नभएको बताए।

उनले इरान ‘बलियो र गर्विलो’ भएकाले सम्झौता गर्न ढिला गरिरहेको टिप्पणी गर्दै अन्ततः उनीहरूसँग विकल्प सीमित रहेको दाबी गरे।

यसैबीच, ट्रम्पले युद्ध सुरु भएयता इरानसँग रहेका मिसाइल क्षमताको करिब २१ देखि २२ प्रतिशत मात्र बाँकी रहेको विश्वास व्यक्त गरे।

मध्यपूर्वमा अमेरिका–इरानबीच बढ्दो तनाव र सैन्य गतिविधिका कारण क्षेत्रीय शान्ति प्रक्रियामाथि थप प्रश्न उठ्न थालेको विश्लेषकहरूले बताए।

प्रकाशित: २३ जेष्ठ २०८३ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App