२४ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानका पाँच तेल ट्यांकरमा आक्रमण, इरानको पनि जवाफी प्रहार

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकाले इरानले दुई दिनमा दुईपटक अमेरिकी युद्धपोतलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै इरानका पाँच तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार ओमानको खाडीमा रहेका चार तथा खार्ग द्वीपनजिक रहेको एक इरानी तेल ट्यांकरमाथि कारबाही गरिएको हो। आक्रमण गरिएका ट्यांकरमा एमटी काभिज, एमटी चारमिनार, एमटी होराइजन-१, एमटी रिस्को र एमटी दर्या रहेका छन्।

अमेरिकाले आक्रमणअघि ती जहाजका चालक दललाई जहाज छाड्न निर्देशन दिएको जनाएको छ। त्यसपछि ट्यांकरलाई आक्रमण गरी सञ्चालन गर्न नसक्ने बनाइएको सेन्टकमको दाबी छ। अमेरिकी सेनाले एमटी रिस्को डुबेको भिडियोसमेत सार्वजनिक गरेको छ।

इरानले भने अमेरिकी आक्रमणको जवाफमा जोर्डनस्थित अल अज्राक अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। इरानी पक्षले यसबाहेक क्षेत्रमा रहेका कम्तीमा दुई अमेरिकी पानीजहाज र आठ तेल ट्यांकरलाई समेत लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ।

इरानको सरकारी प्रसारकले खार्ग द्वीपनजिक भएको आक्रमणको पुष्टि गर्दै ट्यांकरमा रहेका चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ। दक्षिणी बन्दरगाह जास्कनजिक ओमानको खाडीमा अर्को तेल ट्यांकरमाथि पनि आक्रमण भएको इरानको दाबी छ।

अमेरिका र इरानबीचको पछिल्लो सैन्य टकराव खाडी क्षेत्रमा तनाव बढिरहेका बेला भएको हो। अमेरिकी सेनाले इरानी बन्दरगाहमाथि नौसैनिक नाकाबन्दी कडा बनाएको बताइएको छ भने इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको दाबी गरिएको छ।

यसैबीच बढ्दो तनावको प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा पनि देखिएको छ। बुधबार प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.४९ डलरसम्म पुगेको छ।

अमेरिकी सेन्टकमले इरानी आक्रमणको प्रयासबाट कुनै पनि अमेरिकी सैनिक घाइते नभएको जनाएको छ। दुई देशबीच लगातार सैन्य कारबाही र जवाफी आक्रमणका दाबी सार्वजनिक भइरहेकाले खाडी क्षेत्रमा थप तनाव बढ्ने चिन्ता बढेको छ।

प्रकाशित: २४ भाद्र २०८३ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App