अमेरिकी सरकारले विदेशी ट्रक चालकलाई भिसामा प्रतिबन्ध लगाएको छ। विदेशमन्त्री मार्को रुबियोले यो निर्णय तत्काल लागू हुने बताए। फ्लोरिडाको राजमार्गमा भारतीय ट्रक चालक हरजिंदर सिंहको गलत यू-टर्नका कारण भएको दुर्घटनामा तीन जनाको मृत्यु भएपछि यो कदम चालिएको हो।
रुबियोले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तत्काल प्रभावबाट, व्यावसायिक ट्रक चालकलाई दिइने भिसामा प्रतिबन्ध लगाइएको छ। विदेशी ट्रक चालकले अमेरिकी जनताको जीवन र ट्रक चालकको जीविकोपार्जनलाई जोखिममा पारेका छन्।’
हरजिंदर सिंह मेक्सिको हुँदै अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। उनी अंग्रेजी परीक्षामा असफल भएका थिए। यो घटनाले अमेरिकामा राजनीतिक बहस चर्काएको छ। रिपब्लिकन पार्टीले अवैध आप्रवासीमाथि कडा नीति अपनाउँदै आएको छ।
सिंहलाई देश निकाला गर्ने तयारी भइरहेको छ। ट्रम्प प्रशासनले सिंहलाई क्यालिफोर्नियाबाट ड्राइभिङ लाइसेन्स दिएको भन्दै गभर्नर गेभिन न्यूसमलाई दोष लगाएको छ। तर न्यूसमले संघीय सरकारलाई जिम्मेवार ठहराएका छन्। एजेन्सी
प्रकाशित: ६ भाद्र २०८२ १७:४१ शुक्रबार

