१३ भाद्र २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा आक्रमणले बालबालिकाको मृत्यु र पूर्वाधारमा क्षति पुग्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले गाजामा जारी आक्रमणमाथि चिन्ता व्यक्त गर्दै आक्रमणमा नागरिक र बालबालिका मारिनुका साथै मानवीय आपूर्ति र पूर्वाधारमा क्षति पुगिरहेको तथा प्रमुख आपूर्तिको प्रवेश प्रतिबन्धित गरिएको जनाएका छन्। 

संयुक्त राष्ट्रसङ्घीय बाल कोष ९युनिसेफ० ले पछिल्लो पाँच दिनमा २ देखि १६ वर्षका चार जना बालबालिकाको मृत्यु भएको बताएको छ । जसमा गतहप्ता भएको आक्रमणमा घाइते भएका एक जनाको मृत्यु भएको थियो। यसैगरी ८ देखि १७ वर्षका अन्य पाँच जना हवाई आक्रमणपछि प्रत्यक्ष आगो र गोलीको चपेटामा परी घाइते भएकोसमेत युनिसेफले जनाएको छ। 

आक्रमणमा ४५ हजारभन्दा बढी बालबालिका, गर्भवती महिला र स्तनपान गराउने आमाहरूका लागि सात लाख ७० हजार अमेरिकी डलर मूल्यको युनिसेफ पोषण आपूर्ति पनि नष्ट हुनुका साथै मानवीय साझेदारको गोदाममा पनि भारी क्षति पुगेको युनिसेफले जनाएको छ। सोमबार भएको आक्रमणमा देइर अल–बलाहमा चार हजारभन्दा बढी मानिसलाई सेवा दिने युनिसेफको पानीको कुवा र वितरण सुविधा नजिकै भएको आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। हाल मानवीय साझेदारहरूले अन्य स्रोतबाट ट्रकद्वारा पानी आपूर्ति गरिरहेका छन्। 

नागरिक र नागरिकका लागि अत्यावश्यक वस्तु, मानवीय सुविधा र पूर्वाधार सधैँ सुरक्षित हुनुपर्ने मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय ९ओसिएएचए० ले जनाएको छ। 

संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले विस्फोटक खतराहरूको मूल्याङ्कन गरी चिन्ह लगाइरहेका छन् । मानिसहरूलाई सुरक्षा उपायबारे शिक्षित गर्दै र सहयोगका लागि प्रभावितहरूलाई बुझाउँदै गरेको ओसिएएचएले जनाएको छ । तर, आवश्यक उपकरण ल्याउन र विस्फोटक हतियार हटाउन भने अनुमति नदिइएको ओसिएएचएले जनाएको छ। 

बिहीबार रफाहमा निर्धारित पहेँलो रेखा पार गर्दै केरेम शालोम ९कारेम अबु सलेम० सीमाबाट इन्धन लिएर फर्केको संयुक्त राष्ट्रसङ्घको टोलीको करिब ३० मिटर टाढा विस्फोटक पदार्थ विस्फोट भएको थियो। 

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले गत हप्ता गाजाबाट राफाह र केरेम शालोमरकारेम अबु सलेम सीमामार्फत १९ बालबालिका र १३२ साथीहरूसहित १०६ बिरामीलाई बाहिर निकाल्न सहयोग गरेको बताएका छन्। सन् २०२३ अक्टोबरदेखि १३ हजारभन्दा बढी बिरामी र १६ हजार साथीलाई बाहिर निकालिएको तर हजारौँ अझै पनि चिकित्सा निकासीको प्रतीक्षामा रहेको जनाउँदै टेड्रोसले समयमै उपचार सुनिश्चित गर्न धेरै सीमामार्फत दिगो पहुँच आवश्यक रहेको बताएका छन्। 

ओसिएएचएले वेस्ट ब्याङ्कको जेनिनमा घातक ड्रोन आक्रमण भएको पनि रिपोर्ट गरेको छ । आक्रमण पुष्टि भएमा वेस्ट ब्याङ्कमा यो महिनामा भएको पहिलो घातक हवाई आक्रमण हुनेछ।  

प्रकाशित: १३ भाद्र २०८३ १६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App