१७ आश्विन २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्लाईदुबई प्रकरणमा यूएई : को-पाइलटले क्याप्टेनमाथि गरेको घटना ‘आ`तंकवादी कार्य’

संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाईदुबईको उडान संख्या एफजेड १०७३ मा को-पाइलटले क्याप्टेनमाथि आक्रमण गरी विमानको नियन्त्रण लिन खोजेको जनाएको छ।

बुधबार दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको विमानमा चालक दलका सदस्यसहित १८२ जना सवार थिए। सोही उडानका क्रममा ओमानी नागरिक को-पाइलट हमाम अल-हम्मामीले ककपिटभित्र भारतीय क्याप्टेन स्मित मच्छारमाथि आपतकालीन अवस्थामा प्रयोग गरिने बन्चरो प्रहार गरेका थिए। 

यूएईका महान्यायाधिवक्ता हमद सैफ अल-शम्सीले घटनालाई लिएर ‘आतंकवादी कार्य’ गर्ने प्रयासका रूपमा अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार को-पाइलटले क्याप्टेनमाथि बन्चरो प्रहार गरेपछि विमानको उडान नियन्त्रण आफ्नो हातमा लिन खोजेका थिए।

घटनाको उद्देश्य, को-पाइलटको कुनै व्यक्ति वा समूहसँग सम्बन्ध भए नभएको तथा घटनासँग जोडिएका अन्य परिस्थितिबारे अनुसन्धान भइरहेको अल-शम्सीले बताए। भौतिक तथा डिजिटल प्रमाणको समेत परीक्षण भइरहेको उनले जानकारी दिए।

स्रोतका अनुसार यूएईमा जन्मिएका हमाम अल-हम्मामीकी आमा सिरियाली नागरिक हुन्। उनले ओमानको राष्ट्रिय वायुसेवा ओमान एयरमा काम गरेका थिए। अतिवादी विचार अपनाएको आशंकापछि ओमानले उनलाई उडानबाट हटाएर प्रशासनिक काममा लगाएको थियो। तर त्यसपछि उनलाई फ्लाईदुबईले को-पाइलटका रूपमा नियुक्त गरेको हो। 

आक्रमणपछि गम्भीर घाइते भएका क्याप्टेन मच्छारले ककपिटको ढोका खोल्न संघर्ष गरेका थिए। ढोका खुलेपछि यात्रु, चालक दलका सदस्य र उडानमा रहेका अर्का पाइलटले को-पाइलटलाई नियन्त्रणमा लिएका थिए।

घटनाका क्रममा विमान करिब ३३ हजार फिटबाट १७ हजार फिटसम्म झरेको थियो। त्यसपछि विमानलाई साउदी अरेबियाको ताबुकस्थित विमानस्थलतर्फ मोडेर आपतकालीन अवतरण गराइएको थियो। साउदी अधिकारीले को-पाइलटलाई पक्राउ गरी अनुसन्धानका लागि यूएईलाई बुझाएका हुन्।

यसबारे, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले को-पाइलट इस्लामी कट्टरपन्थी विचारबाट प्रभावित भएको दाबी गरेका छन्। तर उनको उद्देश्य र कुनै समूहसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान जारी छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार अहिलेसम्म कुनै समूह वा इरानसँग उनको सम्बन्ध रहेको प्रमाण सार्वजनिक भएको छैन।

घटनापछि फ्लाईदुबईले इजरायल जाने आफ्ना उडान रोकेको जनाएको छ। यूएईका महान्यायाधिवक्ताले आवश्यक अनुसन्धान र प्रमाण परीक्षण पूरा भएपछि घटनाको अन्तिम नतिजा सार्वजनिक गरिने बताएका छन्।

घटनामा घाइते भएका क्याप्टेन मच्छारलाई उपचारका लागि यूएई लगिएको छ। एजेन्सी

प्रकाशित: १७ आश्विन २०८३ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App