चीनका पूर्व रक्षामन्त्री वेई फेङ्हे र ली शाङ्फुलाई घुससम्बन्धी आरोपमा मृत्युदण्ड सुनाइएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार उनीहरूलाई दुई वर्षको स्थगनपछि उक्त सजाय दिइनेछ। यो फैसलाले चीनमा सेनाभित्र भइरहेको कठोर शुद्धीकरण अभियानलाई मुखरित गरेको छ।
सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सी चिनफिङले सुरु गरेको भ्रष्टाचारविरुद्धको व्यापक अभियानमा सशस्त्र बल पनि मुख्य निशानामा रहँदै आएको छ। सन् २०२३ मा यो शुद्धीकरण अभियान परमाणु हतियार तथा परम्परागत मिसाइलको निगरानी गर्ने अभिजात ‘रकेट फोर्स’को तहसम्म पुगेको थियो।
यसै वर्षको सुरुआतमा अभियान अझ तीव्र बन्दै जाँदा जनमुक्ति सेना (पीएलए) का शीर्ष जनरल झाङ योउशियालाई पनि पदबाट हटाइएको थियो। उनी पोलिटब्युरोका सदस्य थिए र लामो समयदेखि राष्ट्रपति सीका निकट सहयोगी मानिन्थे।
सिन्ह्वाका अघिल्ला विवरणहरू अनुसार अभियुक्त पुर्व रक्षामन्त्री ली शाङ्फुमाथि 'ठूलो रकम' घुस लिएको तथा अरूलाई पनि घुस दिएको आरोप छ। अनुसन्धानले उनले 'राजनीतिक जिम्मेवारी पूरा नगरेको' र 'आफू तथा अरूका लागि जनशक्ति व्यवस्थापनमा फाइदा खोजेको' पत्ता लगाएको थियो।
सन् २०२३ मा सुरु गरिएको फरक अनुसन्धानले अर्का रक्षामन्त्री वेई फेङ्हले 'ठूलो रकम र बहुमूल्य वस्तु' घुसस्वरूप स्वीकार गरेको र 'जनशक्ति व्यवस्थापनमा अरूलाई अनुचित लाभ दिलाएको' देखाएको थियो। सन् २०२४ मा सिन्ह्वाले उनका कार्यहरू 'अत्यन्त गम्भीर प्रकृतिका, ठूलो नकारात्मक प्रभाव पार्ने र गम्भीर क्षति पुर्याउने' खाले रहेको उल्लेख गरेको थियो।
चीनमा ‘स्थगनसहितको मृत्युदण्ड’ प्रायः सजाय अवधिभित्र अपराध नगरेको अवश्थामा जीवनकैदमा रूपान्तरण गरिन्छ। रूपान्तरणपछि उनीहरूलाई आजिवन कैदमा राखिनेछ र थप सजाय घटाउने वा बीचमा सर्तसहित बाहिर निस्कने (पैरोल)को अवसर नरहने सिन्ह्वाले जनाएको छ।
यसैबीच, इन्टरनेशनल इन्सिच्यूट फर स्ट्राटेजिक स्टडिजले यसै वर्ष जनाएको अनुसार चीनमासैन्य भ्रष्टाचारविरुद्धको जारी शुद्धीकरण अभियानले कमान्ड संरचनामा गम्भीर कमजोरीहरू देखाएकोछ र यसले तीव्र रूपमा आधुनिकीकरण भइरहेको सेनाको तयारी क्षमतामा असर समेत पारेको हुनसक्छ।
प्रकाशित: २५ वैशाख २०८३ ०७:३२ शुक्रबार



-600x400.jpg)

