अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भेट्ने कुनै योजना नभएको स्पष्ट पारे।
पत्रकारहरूले ‘के तपाईं एसियामा प्रधानमन्त्री कार्नी भेट्नुहुन्छ?’ भनेर सोध्दा राष्ट्रपति ट्रम्पले भने, ‘होइन, मेरो कुनै योजना छैन।’
‘उनीहरूले गरेको काम साँच्चै बेइमानी हो। मैले सुनें कि उनीहरूले विज्ञापन हटाउने तयारी गर्दै थिए, तर मलाई थाहा थिएन कि उनीहरूले यसलाई अझ विस्तार गरेका रहेछन्। सम्भवतः उनीहरूले यो आज रातसम्म हटाउँछन्,’ ट्रम्पले विवादास्पद क्यानडाली विज्ञापनबारे कडा प्रतिक्रिया दिँदै भने, ‘ठीक छ, यो फोहोरी खेल हो, तर म उनीहरूले गर्न सक्नेभन्दा पनि फोहोरी खेल्न सक्छु।’
राष्ट्रपति ट्रम्पका यी टिप्पणीहरू क्यानडासँगको सबै व्यापार वार्ता समाप्त गर्ने उनको बिहीबारको घोषणापछि आएका हुन्। उक्त निर्णय उनले ‘नक्कली’ विज्ञापनको प्रतिक्रियामा गरेका थिए, जसमा पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको करसम्बन्धी भाषणलाई तोडमोड गरी प्रयोग गरिएको थियो।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’मा लेखे, ‘रोनाल्ड रेगन फाउन्डेसनले पुष्टि गरेको छ कि क्यानडाले छलपूर्ण नक्कली विज्ञापन प्रयोग गरेको छ, जसमा रेगनले करविरुद्ध बोलेको जस्तो देखाइएको छ। त्यो विज्ञापनको लागत ७५ हजार डलर थियो। उनीहरूले अमेरिकी सर्वोच्च अदालत र अन्य अदालतका निर्णयहरूमा प्रभाव पार्न यस्तो गरेका हुन्।’
राष्ट्रपति ट्रम्पले भने, ‘कर नीति संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि धेरै महत्त्वपूर्ण छन्। क्यानाडाको गैरजिम्मेवार व्यवहारले उनीहरूसँगका सबै व्यापार वार्ताहरू समाप्त गरिएको छ। धन्यवाद, राष्ट्रपति डिजेटी।’
यसबिच ओन्टारियोका प्रिमियर डग फोर्डले व्यापार वार्ता पुनः सुरु गर्न सकियोस् भन्ने उद्देश्यले प्रधानमन्त्री कार्नी भेटेपछि विवादास्पद विज्ञापन अभियान सोमबारदेखि रोकिने बताए। तर उनले सप्ताहन्तमा एमएलबी विश्व शृङ्खलाका खेलहरूमा उक्त विज्ञापन अझै प्रसारित हुने स्पष्ट पारे।
क्यानाडाको ओन्टारियो सरकारले तिरेको भनिएको उक्त विज्ञापन अभियानका लागि करिब सात करोड ५० लाख अमेरिकी डलर खर्च भएको जनाइएको छ र ती विज्ञापनहरू प्रमुख अमेरिकी टेलिभिजन सञ्जालहरूमा प्रसारण भइरहेका छन्। एएनआई
प्रकाशित: ८ कार्तिक २०८२ १३:१२ शनिबार


-600x400.jpg)


