अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको ५० प्रतिशत कर तीन दिनका लागि स्थगित गरेका छन्।
दुई देशबिच व्यापार सम्झौतामा सहमति जुट्ने क्रममा रहेकाले ट्रम्पले अन्तिम समयमा आएर कर लगाउने योजना पछि सारेका हुन्। ‘कागजातहरूको अन्तिम रूप दिइएपछि, क्यानडा र संयुक्त राज्य अमेरिकाबिच सम्झौता भएको तथ्यको आधारमा मैले क्यानडा विरुद्धको ५० प्रतिशत कर तीन दिनका लागि स्थगित गरेको छु!’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
यो घोषणा कर लागु हुनुभन्दा दुई घण्टाभन्दा कम समयअघि आएको हो। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र ट्रम्पबिच यस हप्ता दुई पटक वार्ता भएको छ। ‘उल्लेखनीय प्रगति भएको छ, यद्यपि अझै महत्त्वपूर्ण काम गर्न बाँकी छ,’ कार्नीले सामाजिक सञ्जालमा लेखे।
यस सम्झौतामा अमेरिकी सामानका लागि बजार पहुँच, आर्थिक सुरक्षा र डिजिटल व्यापारका विषयहरू समावेश हुने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरको कार्यालयले जानकारी दिएको छ। यसले दुवै देशका कामदार र बजारको सुरक्षा गर्ने बताइएको छ।
साथै, ट्रम्पले यस व्यापार सम्झौताले विवादित 'किस्टोन एक्सएल पाइपलाइन' फेरि सुरु गर्ने बाटो खोल्न सक्ने संकेत समेत गरेका छन्। ‘धेरै पहिले निद्रामा परेका जो बाइडेनद्वारा मारिएको महान किस्टोन एक्सएल पाइपलाइन चिहानबाट ब्युँझन सक्छ!’ उनले थप भने।
हाल दुई देशबिच अटोमोबाइलमा कर, अमेरिकी मदिरामा क्यानडाको प्रतिबन्ध र डेरी उत्पादनको पहुँचजस्ता विषयमा वार्ता भइरहेको छ। ओन्टारियोका प्रिमियर डग फोर्डले निष्पक्ष सम्झौता भएमा मात्र अमेरिकी मदिरामाथिको प्रतिबन्ध हटाउन आफू तयार रहेको बताएका छन्।
रोयटर्सका अनुसार वार्ताकारहरू अमेरिकी अटोमा लाग्ने २५ प्रतिशत करलाई घटाएर १५ प्रतिशतमा झार्ने विषयमा छलफल गरिरहेका छन्। यद्यपि, कारमा प्रयोग हुने सामग्रीको उत्पत्ति र मदिरा प्रतिबन्ध हटाउने प्रक्रिया जस्ता विषयमा अझै सहमति हुन बाँकी छ।
अमेरिकी चेम्बर अफ कमर्सले पनि उच्च करले दुवै अर्थतन्त्रलाई हानि पुर्याउने र लाखौं रोजगारी जोखिममा पर्ने चेतावनी दिँदै तत्काल सम्झौतामा पुग्न जोड दिएको छ। ट्रम्पले गत वर्ष सत्तामा फर्किएपछि क्यानडा र अमेरिकाबिचको स्वतन्त्र व्यापारमा कडाइ गर्दै विभिन्न शुल्कहरू थपेका थिए, जसले गर्दा दुई व्यापारिक साझेदारबिच तनाव बढेको थियो। एजेन्सी
प्रकाशित: ३ भाद्र २०८३ १४:२३ बुधबार





