अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारको चर्चा गर्दै मे महिनामा भारत र पाकिस्तानबिच भएको द्वन्द्व रोकेको दाबी गरेका छन्।
‘हामीले शुल्क र व्यापारका कारण सात फरक युद्ध रोकेका छौँ। हामीले भारत र पाकिस्तान, थाइल्याण्ड र कम्बोडियाबिचको युद्ध रोकेका छौँ,’ ट्रम्पले शनिबार राति एक कार्यक्रममा भने।
‘आर्मेनिया र अजरबैजान धेरै वर्षदेखि लडिरहेका थिए। भारत र पाकिस्तानबिचको युद्ध व्यापारले रोकेको थियो। तिनीहरू व्यापार गर्न चाहन्थे।’
ट्रम्पले थपे, ‘भारत–पाकिस्तान, थाइल्याण्ड–कम्बोडिया, आर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया र रुवान्डा–कंगो, हामीले ती सबै रोकेका छौँ। यीमध्ये ६० प्रतिशत देश व्यापारका कारण रोकिए। जस्तै हामीले भारतलाई भनेका थियौँ कि यदि युद्ध भयो भने हामी व्यापार गर्दैनौँ।’
नोबेल पुरस्कारबारे उनले भने, ‘यसपछि मलाई भनियो कि यदि तपाईंले रुस र युक्रेनबिचको युद्ध रोक्नुभयो भने तपाईंले नोबेल पुरस्कार पाउनुपर्छ।’ मैले भने, ‘मैले रोकेका अन्य सात युद्धको बारेमा के? मैले प्रत्येकका लागि नोबेल पुरस्कार पाउनुपर्छ।’
ट्रम्पले यसअघि पनि भारत र पाकिस्तानबिचको द्वन्द्व रोकेको दाबी गर्दै आएका थिए। तर भारतले उनको दाबीलाई अस्वीकार गर्दै आएको छ।
प्रकाशित: ५ आश्विन २०८२ १२:२२ आइतबार

