अमेरिकी सिनेटका चार रिपब्लिकन र दुई डेमोक्र्याटिक सिनेटरले रूसबाट डिजेल खरिद गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न आग्रह गरेका छन्।
उच्च इन्धन मूल्य घटाउने उद्देश्यले रूसबाट डिजेल ल्याउने योजना बनाइएको हो।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले रूसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक फाइदा पुग्ने काम गर्न नहुने बताएका हुन्। ट्रम्प प्रशासनले यो निर्णय गर्नुअघि संसद् (कंग्रेस) सँग छलफल गरेको छैन र कानुनअनुसार आवश्यक कारण पनि नदिएको उल्लेख छ।
ट्रम्पले गत शुक्रबार सामाजिक सञ्जालमार्फत पुटिनसँग फोनमा कुरा गरेपछि रूसबाट डिजेल खरिद गर्ने सहमति भएको घोषणा गरेका थिए।
उनका अनुसार रूसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्नेछ। त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन र त्यसलगत्तै १० लाख टन डिजेल ल्याउने योजना छ। छोटो समयमै थप ३० लाख टन डिजेल पनि आपूर्ति गरिने उनले बताएका थिए।
योजनाको विरोध गर्ने सिनेटरमा रिपब्लिकन पार्टीका सुसान कोलिन्स, लिसा मुर्कोवस्की, थम टिलिस र जोन कर्टिस छन्। त्यस्तै, डेमोक्र्याटिक पार्टीका जीन शाहीन र रिचर्ड ब्लुमेन्थलले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
सिनेटर टिलिसले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्प प्रशासनले रूसबाट डिजेल खरिद गर्ने योजना अघि बढाएमा राष्ट्रपतिले कानुन पालना नगरेको भन्न सकिने बताए।
‘रूसले युक्रेनमाथि आक्रमण गरेको हो भन्ने कुरा हामीले स्पष्ट पारेका छौँ। रूसले कब्जा गरेको क्षेत्रबाट सेना फिर्ता गरेर युद्ध अन्त्य गर्न सक्छ,’ टिलिसले भने।
ट्रम्पले रूसबाट डिजेल खरिद गर्ने घोषणा गर्नुभन्दा केही साताअघि मात्रै कंग्रेसले रूसबाट ऊर्जा किन्ने देशमाथि भन्सार कर बढाउन राष्ट्रपतिलाई अधिकार दिने कानुन पारित गरेको थियो। तर, रूसबाट प्राकृतिक ग्यासको कुल निर्यातमध्ये १५ प्रतिशतभन्दा कम किन्ने र आयात घटाउन महत्त्वपूर्ण कदम चाल्ने देशलाई भने उक्त व्यवस्थामा छुट दिने प्रावधान छ।
रूसले तेल र ग्यास बेचेर कमाउने पैसा घटाई युक्रेनविरुद्धको युद्धमा आर्थिक स्रोत जुटाउन कठिन बनाउने उद्देश्यले यस्तो कानुन ल्याइएको थियो। सन् २०२२ मा पनि अमेरिकाले रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाएको थियो।
‘रूसले युक्रेनमाथिको आक्रमण अन्त्य नगरेसम्म र नेटोका सहयोगी देशलाई धम्की दिन बन्द नगरेसम्म अमेरिकाले रूसबाट तेल आयात गर्नु हुँदैन,’ छ जना सिनेटरले विज्ञप्तिमा लेखेका छन्।
उनीहरूका अनुसार रूसबाट डिजेल आयात गर्न दिने ट्रम्पको निर्णय विद्यमान अमेरिकी कानुनविपरीत छ।
तर, रिपब्लिकन सिनेटर जोन बारासोले ट्रम्पले इन्धनको मूल्य घटाउन ध्यान दिएको बताउँछन्। उनले एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले कठिन निर्णय लिएको बताए। बारासोले गत महिना कंग्रेसले पारित गरेको प्रतिबन्धसम्बन्धी कानुन लागू गर्न पनि ट्रम्पलाई आग्रह गरेका छन्।
उक्त कानुन लागू भएमा भारत र चीनजस्ता रूसबाट ऊर्जा किन्ने देश प्रभावित हुन सक्छन्। तर, अमेरिका आफैँले रूसबाट डिजेल खरिद गर्ने योजना बनाएपछि उक्त कानुन कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठेको छ।
‘यो विश्वको त्यस क्षेत्रमा दीर्घकालीन समाधान खोज्ने क्रममा पुटिनमाथि दबाब दिन राष्ट्रपतिले प्रयोग गर्न सक्ने अर्को उपाय हो,’ बारासोले भने।
ऊर्जा क्षेत्रका विज्ञहरूले भने रूससँगको सम्झौताले इन्धनको मूल्य घटाउने सम्भावना कम रहेको बताएका छन्।
कोलम्बिया विश्वविद्यालयको ग्लोबल इनर्जी पोलिसी सेन्टरका वरिष्ठ अनुसन्धानकर्ता रिचर्ड नेफ्यूका अनुसार रूसले दिने भनिएको डिजेलको मात्रा अमेरिकाले एक दिनमा खपत गर्ने डिजेलभन्दा पनि कम छ।
उनले यो सम्झौताबाट अमेरिकाभन्दा रूस र इरानले बढी फाइदा लिन सक्ने बताए।
‘यसले अमेरिकामाथि अझै दबाब रहेको देखाउने भएकाले इरान खुसी हुन सक्छ। त्यस्तै, रूसले पनि प्रतिबन्ध व्यवस्थामा ठुलो कमजोरी आएको ठान्न सक्छ,’ उनले भने।
ट्रम्पले पछिल्लो समय इरानविरुद्ध अमेरिकाको नेतृत्वमा भइरहेको युद्धका कारण विश्व बजारमा ऊर्जा मूल्य बढेको विषयमा युक्रेनलाई दोष दिने प्रयास पनि गरेका छन्। एजेन्सी
प्रकाशित: २६ आश्विन २०८३ ०९:१० सोमबार




-600x400.jpg)
-600x400.jpg)