७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको ‘पर्ल हार्बर’ ठट्टाले जापानकी प्रधानमन्त्री असहज : इरान हमलाको ‘सरप्राइज’ रणनीति सुनाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानाए ताकाइची ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा ट्रम्पले दिएको एक टिप्पणी चर्चाको विषय बनेको छ। 

इरानविरुद्ध गरिएको सैन्य कारबाहीका बारेमा आफ्ना सहयोगी राष्ट्रहरूलाई पूर्व जानकारी नदिएको विषयमा स्पष्टीकरण दिने क्रममा ट्रम्पले यसलाई सन् १९४१ मा जापानले पर्ल हार्बरमा गरेको आक्रमणसँग तुलना गरेका हुन्। 

उनले भने, ‘हामीले यसबारे कसैलाई भनेनौं किनभने हामी सरप्राइज दिन चाहन्थ्यौं। जापानभन्दा सरप्राइजबारे कसलाई बढी थाहा छ? तपाईंले मलाई पर्ल हार्बरबारे किन नभनेको?’ भन्दै ट्रम्पले ठट्टा गरेपछि ओभल अफिसमा उपस्थित पत्रकार र जापानी प्रतिनिधिहरू चकित परेका थिए।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका र इजरायलको संयुक्त आक्रमणको बचाउ गर्दै ट्रम्पले सैन्य सफलताका लागि गोपनीयता र ‘सरप्राइज’ आवश्यक रहेको तर्क गरेका हुन्। उनले थपे, ‘मलाई लाग्छ हामीभन्दा पनि बढी तपाईंहरू सरप्राइजमा विश्वास गर्नुहुन्छ। त्यो सरप्राइजकै कारणले गर्दा सुरुका दिनहरूमा हामीले अपेक्षा गरेभन्दा धेरै नतिजा निकाल्यौं।’

ट्रम्पले यसो भनिरहँदा प्रधानमन्त्री ताकाइचीको मुस्कान फिक्का भएको थियो, उनी निकै असहज देखिइन्। 

डिसेम्बर ७, १९४१ को बिहान जापानले अमेरिकी राज्य हवाईको पर्ल हार्बरमा रहेको अमेरिकी नौसेना अड्डामा अचानक आक्रमण गरेको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी. रुजवेल्टले उक्त दिनलाई ‘अपमानको दिन’ भनेका थिए। पर्ल हार्बर आक्रमणमा २४ सयभन्दा बढी अमेरिकी सैनिक र नागरिकको ज्यान गएको थियो, सोही कारण अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गर्न बाध्य भएको थियो।

दोस्रो विश्वयुद्ध समाप्त भएको आठ दशकभन्दा बढी समय बितिसक्दा पनि जापान र यसका छिमेकीहरूमाझ युद्धकालीन इतिहास अझै पनि एउटा संवेदनशील मुद्दा बनेको छ। अगस्ट १९४५ मा अमेरिकाले हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेपछि युद्ध समाप्त भयो। अमेरिका र जापान सेप्टेम्बर १९५१ मा शान्ति सन्धिमा हस्ताक्षर गरेदेखि नै सहयोगी बनेका हुन्।

भेटका क्रममा दुई नेताबिच तेल र ग्यास ढुवानीका लागि विश्वकै महत्वपूर्ण मार्ग होर्मुजको सुरक्षाका विषयमा पनि छलफल भएको थियो। ट्रम्पले जापानलाई यस क्षेत्रको सुरक्षामा थप सक्रिय भूमिका खेल्न दबाब दिए। जवाफमा प्रधानमन्त्री ताकाइचीले होर्मुजको सुरक्षा महत्वपूर्ण भएको स्वीकार गर्दै जापानको संविधानले आत्मरक्षाबाहेक अन्य अवस्थामा सैन्य बल प्रयोग गर्न निषेध गरेको कानुनी सीमाबारे ट्रम्पलाई जानकारी गराइन्। 

भेटमा चीनसँगको सम्बन्धबारे पनि चर्चा गरिएको थियो। ताकाइचीले जापान चीनसँग कुटनीतिक तरिकाले सम्बन्ध सुधारका पक्षमा रहेको जानकारी गराएकी थिइन्। ट्रम्पले पनि निकट भविष्यमा चीन भ्रमणको सम्भावना चर्चा गरेका थिए। भेटमा जापानी प्रधानमन्त्रीले इरानले जलमार्ग अवरुद्ध गरेकोमा निन्दा गरे पनि जापानले आफ्नो कानुनको परिधिभित्र रहेर मात्र सहयोग गर्न सक्ने स्पष्ट पारिन्।

कूटनीतिक असहजताका बाबजुद दुई देशबिच ऊर्जा र पूर्वाधार क्षेत्रमा ठूलो लगानीको सम्झौता भएको छ। टेनेसी र अलाबामामा आणविक रिएक्टरहरू निर्माण गर्न ४० अर्ब अमेरिकी डलर र पेन्सिलभेनिया तथा टेक्सासमा प्राकृतिक ग्यास ऊर्जा केन्द्रहरूका लागि ३३ अर्ब डलर लगानी गर्ने घोषणा गरियो।

प्रधानमन्त्री ताकाइचीले ट्रम्पको ‘जापानप्रतिको न्यानो भावना’ को प्रशंसा गर्दै विश्व शान्तिका लागि ट्रम्पको भूमिका महत्वपूर्ण रहेको बताइन्। ट्रम्पले पनि ताकाइचीको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबिचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्। एजेन्सी

प्रकाशित: ६ चैत्र २०८२ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App