१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको ट्रम्पको दाबी ‘मनगढन्ते’ : चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोल कल्पित’ भएको भन्दै यसको खण्डन गरेको छ। 

‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दाबीलाई पुनः जीवित गरेका छन्। धेरैले यसले उनलाई थप विवादित बनाउने अपेक्षा गरिरहेका छन्।

राष्ट्रपति ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको बताएका थिए भने उनले कानुन निर्माताहरूलाई मतदानमा नयाँ प्रतिबन्धहरू लागू गर्न आह्वान गरे। यद्यपि उनको आफ्नै रिपब्लिकन पार्टीभित्र पनि यी उपायहरूबारे खासै रुचि राखेको देखिएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले अवैध रूपमा २२ करोड मतदाता फाइलहरू प्राप्त गरेको देखाउने खुफिया जानकारीलाई वर्गीकरण नगर्ने पनि बताए।

‘अमेरिकी पक्षबाट गरिएका सम्बन्धित दाबीहरू पूर्ण रूपमा मनगढन्ते, कपोल कल्पित र दुर्भावनापूर्ण आरोपहरू हुन् जुन पहिले नै आधारहीन साबित भइसकेका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ट्रम्पको पछिल्लो दाबीबारे सोध्दा पत्रकार सम्मेलनमा भने ।  

‘चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो छैन र कहिल्यै हस्तक्षेप गरेको छैन,’ लिनले भने।

‘कसले नियमित रूपमा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी राख्छ भन्ने अन्तर्राष्ट्रिय समुदायले स्पष्ट रूपमा देखेको छ,’ उनले भने ।

‘हामी अमेरिकी पक्षलाई आफ्नो कार्यको आत्मनिरीक्षण गर्न, चीनमाथि आधारहीन आरोप लगाउन बन्द गर्न, आफ्नो निर्वाचनबारेमा चीनलाई मुद्दा बनाउन रोक्न र चीन–अमेरिका सम्बन्धलाई फाइदा पुर्याउने काम गर्न आह्वान गर्दछौँ,’ उनले थपे।

सन् २०२० को निर्वाचनमा धाँधली भएको ट्रम्पको दाबी कहिल्यै प्रमाणित भएको छैन। करिब ६० भन्दा बढी मुद्दाहरूमा कुनै अदालतले निर्वाचनको नतिजा बदल्न सक्ने ठगी भएको फैसला गरेको छैन। पुनःगणना, अडिट र उनको आफ्नै न्याय विभागले पनि यस्तो केही फेला पारको पाइदैन।

प्रकाशित: १ श्रावण २०८३ १८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App