अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको सम्भावित सैन्य हमला स्थगित गर्दै युद्धविराम लम्ब्याउने निर्णय गरेका छन्।
उनले पाकिस्तानका सेना प्रमुख आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफको अनुरोधमा इरानले संयुक्त योजना प्रस्तुत गर्न सकोस् भनेर यो कदम चालिएको बताए।
ट्रम्पले आफ्नो वक्तव्यमा इरानी सरकार हाल गहिरो रूपमा विभाजित रहेको दाबी गर्दै इरानका नेताहरूलाई समाधान तयार गर्ने मौका दिन आक्रमण रोकेको उल्लेख गरेका छन्। तर उनले अमेरिकी सेनालाई इरानमाथिको नाकाबन्दी जारी राख्न र कुनै पनि परिस्थितिको लागि तयार रहन निर्देशन समेत दिए। यसको अर्थ सैन्य दबाब जारी रहने भए पनि तत्काल प्रत्यक्ष कारबाही भने हुने छैन।
‘ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार र सक्षम रहन निर्देशन दिएको छु, र त्यसैले उनीहरूको प्रस्ताव पेश नभएसम्म र छलफलहरू कुनै न कुनै रूपमा सम्पन्न नभएसम्म युद्धविरामलाई विस्तार गर्नेछु।’
पाकिस्तानका प्रधानमन्त्री शरीफले युद्धविराम बढाउने निर्णयका लागि ट्रम्पलाई धन्यवाद दिएका छन्। उनले यो कदमले कूटनीतिक प्रयासलाई अगाडि बढाउन मद्दत गर्ने र दुई पक्षबिच शान्ति सम्झौताको आशा कायम रहेको बताए। शरीफले सामाजिक सञ्जालमा आफू र फिल्ड मार्शल सैयद आसिम मुनीरले ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेको बताएका छन्। उनले अमेरिकाले पाकिस्तानको अनुरोध स्वीकार गरी वार्ताको ढोका खुला राखेको बताए। शरीफले दुवै पक्षलाई युद्धविराम पालना गर्न र दिगो शान्तिका लागि थप वार्ता गर्न आह्वान समेत गरेका छन्।
अमेरिकी राष्ट्रपतिले युद्धविराम बढाउने घोषणा गरे पनि इरानबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। इरानले पाकिस्तानको इस्लामाबादमा हुने भनिएको वार्तामा भाग लिन अस्वीकार गरेको खबर आइरहेका छन्। तस्निम समाचार एजेन्सीका अनुसार अमेरिका आफ्नो अत्यधिक मागबाट पछि नहटेकाले वार्ता निरर्थक भएको इरानको ठहर छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्ग वरिपरि अमेरिकी नौसैनिक नाकाबन्दीलाई युद्धविरामको उल्लङ्घन भएको बताएका छन्। उनका अनुसार इरानलाई प्रतिबन्धहरूलाई कसरी बेवास्ता गर्ने, आफ्नो हितको रक्षा गर्ने र धम्कीको प्रतिरोध गर्ने भन्ने थाहा छ।
यसैबिच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि अधिकतम आर्थिक दबाब जारी रहने स्पष्ट पारेका छन्। उनले इरानको आर्थिक शक्ति घटाउन वित्तीय गतिविधिहरूलाई व्यवस्थित रूपमा लक्षित गर्ने बताए।
अर्कोतिर, ट्रम्पले इरानमा शासन परिवर्तन भएको दाबी गर्दै अमेरिका र इरानबिच चाँडै ठूलो सम्झौता हुन सक्ने दाबी गरेका छन्। उनले इरानलाई चेतावनी दिँदै भनेका छन्, ‘यदि शान्ति सम्झौता भएन भने अमेरिकी सेना आक्रमण गर्न पूर्ण रूपमा तयार छ। हामीसँग धेरै समय छैन।’
अमेरिकी नाकाबन्दीका कारण इरानलाई प्रतिदिन ५० करोड डलर नोक्सान भइरहेको र उसको सैन्य संयन्त्र पूर्ण रूपमा ध्वस्त भएको दाबी समेत ट्रम्पले गरेका छन्।
यता, इरानले वार्ताका लागि पठाएको प्रतिनिधिमण्डललाई कुनै प्रतिक्रिया नदिएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण स्थगित गरिएको दाबी गरिएको छ। मध्यस्ततामा रुपमा रहेको पाकिस्तानले अमेरिका, इजरायल र इरानबिच जारी द्वन्द्व अन्त्य गर्ने प्रयासहरू अझै अनिश्चि रहेको भनेको छ।
यद्यपि, केही विज्ञहरूले भने ट्रम्पको यो कदमलाई वार्ता असफल भएको ‘लज्जा ढाक्ने तरिका’ को रूपमा टिप्पणी गरेका छन्। स्टिमसन सेन्टरकी बारबरा स्लाभिनका अनुसार अमेरिकाले आफ्ना अधिकतम मागहरू त्यागेर इरानलाई गम्भीर रहेको सङ्केत दिनु आवश्यक छ। एजेन्सी
प्रकाशित: ९ वैशाख २०८३ ०६:३३ बुधबार





