अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पदबाट राजीनामा दिने निर्णय गरेपछि यसबारे ठट्टा गरेका छन्।
हालैको एक अन्तर्वार्तामा ट्रम्पले लेभिटको बहिर्गमनलाई लिएर रमाइलो टिप्पणी गरेका हुन्। ‘मैले थाहा पाएँ कि क्यारोलिन लेभिटले मलाईभन्दा आफ्ना बच्चाहरूलाई बढी मन पराउँछिन्, म यसबारे धेरै चिन्तित छु,’ ट्रम्पले आफ्ना दुई साना बच्चाको हेरचाहका लागि लेभिटले राजीनामा दिन लागेको प्रसंगमा भने। उनले लेभिटको ठाउँ लिन सजिलो नहुने समेत बताए।
लेभिटले आफ्नो परिवार र दुई साना सन्तानलाई समय दिने उद्देश्यले अगस्टको अन्त्यमा पदबाट बिदा लिने निर्णय गरेकी हुन्। उनी २६ वर्षको उमेरमा यो पद सम्हाल्ने सबैभन्दा कान्छी व्यक्ति बनेकी थिइन्। ट्रम्पले लेभिटको निर्णयलाई समर्थन गर्दै उनी ह्वाइट हाउसबाट बाहिरिएपछि पनि प्रमुख बाह्य सल्लाहकारको रूपमा आफ्नो टोलीमा सक्रिय रहने बताए।
लेभिटको बहिर्गमन पछि उनको स्थानमा को आउला भन्ने चर्चा चलिरहँदा ट्रम्पले एक रोचक संकेत दिएका छन्। अन्तर्वार्ताका क्रममा फक्स न्यूजकी संवाददाता एलेक्सिस म्याकएडम्सले यसबारे सोध्दा ट्रम्पले उनैलाई प्रश्न फर्काए।
‘तपाईं ?’ ट्रम्पले म्याकएडम्सलाई सोधे। उनले थप प्रश्न गरे, ‘तपाईं किन उनको ठाउँ लिनुहुन्न ?’ म्याकएडम्सको कार्यशैलीको प्रशंसा गर्दै ट्रम्पले उनलाई त्यो भूमिका निर्वाह गर्न सक्षम रहेको बताए। यद्यपि, ट्रम्पले आधिकारिक रूपमा कसैको नाम घोषणा गरिसकेका छैनन्।
लेभिटको राजीनामालाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी पनि भइरहेका छन्। केहीले उनको बहिर्गमनलाई जुलाई महिनामा टर्कीको अंकारामा ट्रम्पसँग जोडिएको एक सुरक्षा घटनासँग जोडेर प्रचार गरेका छन्।
इरानी दूतावासले सुरक्षा खतराका कारण ट्रम्पको विमान परिवर्तन गरिएको र लेभिटलाई पछाडि छोडिएको दाबी गरेको थियो।
तर, ह्वाइट हाउसले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। ट्रम्पले सुरक्षा अधिकारीहरूको सल्लाहमा मात्र विमान परिवर्तन गरिएको र लेभिट त्यो विमानमा नरहेको स्पष्ट पारेका छन्। लेभिटले भने आफ्नो राजीनामाको एकमात्र कारण परिवार नै रहेको बताएकी छिन्। एजेन्सी
प्रकाशित: १ भाद्र २०८३ २१:३५ सोमबार



-600x400.jpg)
