२ मंसिर २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता, इन्डो–प्यासिफिकमा सहकार्यको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ र रुसी राष्ट्रपतिसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने तयारी गरिरहेका बेला जापानी प्रधानमन्त्री साने ताकाइचीले उनीसँग भेटवार्ता गरेकी छिन्।

जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मंगलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गरेका रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका जापानी विदेश मन्त्रालयका एक अधिकारीले बताए।

प्रधानमन्त्री ताकाइची बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदै छिन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो।

ताइवानसम्बन्धी उनको अभिव्यक्तिपछि चीनसँगको पछिल्लो परिस्थितिका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता हुनेबारे भने अन्योल रहेको बताइएको छ।

यद्यपि, सञ्चारमाध्यमका अनुसार उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छोटो भेट गर्न सक्ने सम्भावना छ। रुसी विदेश मन्त्रालयका एक अधिकारीले भने त्यस्तो भेटबारे कुनै निर्णय नभएको बताएका छन्।

जासुसीको आरोपमा रुसमा एक जापानी पत्रकार पक्राउ पर्नुका साथै जापान टोबाकोसँग सम्बन्धित सम्पत्ति जफत भएपछि पछिल्ला साताहरूमा जापान–रुस सम्बन्धमा तनाव बढेको छ।

यसैबीच, सी, ट्रम्प र पुटिनबीच बिहीबार त्रिपक्षीय शिखर सम्मेलन हुने कार्यक्रम छ। जापानी सरकारका मुख्य प्रवक्ता मिनोरु किहाराले अमेरिका–चीन, चीन–रुस तथा अमेरिका–चीन–रुस सम्बन्धलाई जापानले नजिकबाट नियालिरहेको बताइन्।

उनले जापानको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताका लागि अमेरिका–जापान गठबन्धन बलियो हुनु आवश्यक रहेको उल्लेख गरिन्।

चीनले आफ्नो भूभाग मान्दै आएको ताइवानको अवस्थाबारे प्रधानमन्त्री ताकाइचीले गत वर्ष नोभेम्बरमा जापानको सम्भावित भूमिकाबारे धारणा व्यक्त गरिन्। उक्त अभिव्यक्तिपछि चीनले आफ्नो चासो व्यक्त गरेको थियो।एएफपी

प्रकाशित: २ मंसिर २०८३ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App