अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आठ वर्षपछि बुधबार चीन पुगेका छन्। उनको विमान बेइजिङस्थित क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेपछि चिनियाँ उपराष्ट्रपति हान जेङ र वरिष्ठ कूटनीतिज्ञ शी फेङले स्वागत गरेका थिए। एयर फोर्स वानबाट ओर्लिँदा करिब ३०० बालबालिका नीलो–सेतो पोशाकमा अमेरिका र चीनको झण्डा फहराउँदै मन्डारिन भाषामा ‘वेलकम’ नारासहित उपस्थित थिए। ट्रम्पसँग उनका छोरा एरिक ट्रम्प र बुहारी लारा ट्रम्प पनि बेइजिङ पुगेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीच बिहीबार र शुक्रबार चरणबद्ध वार्ता हुने तय भएको छ। वार्तामा व्यापारिक कर विवाद, ताइवान, दुर्लभ खनिज पदार्थ, कृत्रिम बुद्धिमत्ता (एआई), सेमीकन्डक्टर प्रविधि तथा इरान युद्ध मुख्य एजेन्डा रहने जनाइएको छ। ट्रम्प मे १५ सम्म बेइजिङमा रहनेछन्। यो सन् २०१७ पछिको उनको पहिलो चीन भ्रमण हो।
ट्रम्पसँगै एलोन मस्क, टिम कुक र बोइङका शीर्ष अधिकारीसहित १७ जना अमेरिकी उद्योगपति पनि चीन पुगेका छन्। भ्रमणका क्रममा चीनले ५०० बोइङ ७३७ म्याक्स, १०० बोइङ ७८७ ड्रिमलाइनर र केही ७७७एक्स वाइडबडी विमान खरिद गर्न सक्ने चर्चा छ। करिब ९ लाख करोड रुपैयाँ बराबरको सम्भावित यो सम्झौता भए इतिहासकै सबैभन्दा ठूलो विमान व्यापार सम्झौता बन्न सक्ने आँकलन गरिएको छ।
बेइजिङ प्रस्थानअघि ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफूलाई चीनको सहयोग आवश्यक नरहेको बताएका थिए। पत्रकारसँग उनले अमेरिकाले कुनै पनि हालतमा युद्ध जित्ने दाबी गर्दै इरानसँग परमाणु हतियार हुन नदिने आफ्नो मुख्य प्राथमिकता रहेको बताए। अमेरिकी जनताको आर्थिक अवस्थाभन्दा इरानको आणविक महत्वाकांक्षा रोक्नु अहिलेको प्रमुख चासो भएको उनको भनाइ थियो।
ट्रम्पसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि चीन पुगेका छन्। रुबियोले उइघुर मुसलमान र हङकङ मुद्दामा चीनको आलोचना गर्दै आएका कारण बेइजिङले उनीमाथि पहिले नै प्रतिबन्ध लगाएको थियो। तर यस भ्रमणका लागि चीनले उनको नामको चिनियाँ ट्रान्सलिटरेसन परिवर्तन गरेर प्रतिबन्ध व्यवस्थालाई प्राविधिक रूपमा छल्ने उपाय अपनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति सी चिनफिङले ट्रम्पको सम्मानमा भव्य स्टेट डिनर आयोजना गर्नेछन्। यस्तो कार्यक्रमलाई चीनमा उच्च कूटनीतिक सम्मानका रूपमा लिइन्छ। सामान्यतया ग्रेट हल अफ द पिपलमा आयोजना हुने यस्ता समारोहमा दुवै देशका उच्च अधिकारी, व्यवसायी र विशेष अतिथिको सहभागिता रहने गर्छ। कूटनीतिक विश्लेषकहरूले यसलाई अमेरिका–चीन सम्बन्धलाई रणनीतिक महत्व दिइएको संकेतका रूपमा व्याख्या गरेका छन्।
दुई शक्तिशाली राष्ट्रबीच व्यापारिक कर विवाद अहिले पनि प्रमुख तनावको विषय बनेको छ। ट्रम्पले चिनियाँ वस्तुमाथि थप कर लगाउने चेतावनी दिइसकेका छन् भने चीनले अमेरिकी दबाबको प्रतिरोध गर्ने संकेत दिएको छ। ताइवानमा अमेरिकाले प्रस्ताव गरेको ११ अर्ब डलर बराबरको हतियार प्याकेजले पनि सम्बन्ध थप संवेदनशील बनाएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै अमेरिकी हतियार बिक्रीको निरन्तर विरोध गर्दै आएको छ।
रेयर अर्थ मिनरल्स, एआई र सेमीकन्डक्टर प्रविधिमा पनि दुवै देशबीच प्रतिस्पर्धा तीव्र बनेको छ। इलेक्ट्रिक गाडी, चिप्स र रक्षा उद्योगका लागि आवश्यक रेयर अर्थमा चीन विश्वकै ठूलो आपूर्तिकर्ता हो। अमेरिका भने चीनमाथिको निर्भरता घटाउने रणनीतिमा छ। उता व्यापार युद्धपछि घटेको अमेरिकी सोयाबिन निर्यात पुनः बढाउने प्रयास पनि ट्रम्प प्रशासनको प्राथमिकतामा परेको छ।
इरानी तेल खरिदको विषयले समेत वाशिङटन र बेइजिङबीच तनाव बढाएको छ। अमेरिकाले चीनले ठूलो परिमाणमा इरानी तेल खरिद गरेर तेहरानलाई आर्थिक सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ। पश्चिमी प्रतिबन्धका बाबजुद चीनले आफ्नो ऊर्जा आवश्यकताका कारण इरानबाट तेल आयात जारी राखेको बताउँदै आएको छ।
प्रकाशित: ३१ वैशाख २०८३ ०६:३९ बिहीबार





