अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको चलिरहेको युद्धमा सहयोगी राष्ट्रहरूबाट अपेक्षित सैन्य सहयोग नपाएपछि कडा आक्रोश व्यक्त गरेका छन्। उनले नेटोलाई अमेरिकाको साथबिना 'कागजी बाघ' मात्र भएको बताउँदै सहयोगीहरूलाई 'कायर' को संज्ञा दिएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा अमेरिकाबिना नेटो कागजी बाघ रहेको भनेका छन्। आणविक शक्ति भएको इरानलाई रोक्ने लडाइँमा सहयोगीहरू सामेल नभएको, अब लडाइँ सैन्य रूपमा जितिसकिएको र कम जोखिममा पनि होर्मुज जलडमरू (होर्मुज जलमार्ग) खोल्न मद्दत नगरेको भन्दै उनले गुनासो गरेका हुन्। तेल मूल्य बढेकोमा मात्र गुनासो गर्ने तर सजिलो सैन्य कार्यमा पनि सहयोग नगर्ने भन्दै उनले सहयोगी देशहरूलाई 'कायर' भनेका छन्। यो कुरा याद गरिरहने चेतावनी पनि उनले दिएका छन्।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका र इजरायलको संयुक्त 'अपरेशन एपिक फ्युरी' युद्ध अहिले आफ्नो तेस्रो हप्तामा छ। यो अभियान इरानको आणविक क्षमता, क्षेप्यास्त्र, नौसेना र उत्पादन शक्तिलाई नष्ट गर्ने लक्ष्यले चलाइएको दाबी गरिएको छ। ट्रम्प प्रशासनले युद्ध अब केही हप्ताभित्र समाप्त हुन सक्ने संकेत गरेको छ। तर विजयको पूर्ण मापदण्ड अझै स्पष्ट छैन। ट्रम्पले इरानको सैन्य क्षमता धेरै कमजोर पारिएको दाबी गर्दै आएका छन्।
उनले नेटोबाट अमेरिकाले दिँदै आएको ठूलो सहयोगको स्मरण गर्दै अहिले साथ नपाएकोमा असन्तुष्टि जनाएका हुन्। सहयोगीहरूले होर्मुजको सुरक्षा र खोल्न मद्दत नगरेको भन्दै आलोचना गरेका छन्। इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु विश्व सुरक्षा र सहयोगीहरूकै हितमा रहेको उनको तर्क छ।
यस युद्धले विश्व बजारमा तेलको मूल्य आकाशिएको छ। युद्ध सुरु हुनुअघि करिब ७० डलर प्रति ब्यारेल रहेको ब्रेन्ट कच्चा तेलको मूल्य अहिले १०० देखि ११० डलरभन्दा माथि पुगेको छ। होर्मुज जलमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ। यसले एसियाली देशहरूमा बढी असर पारेको छ। खाद्यान्न तथा उपभोग्य वस्तुको मूल्यवृद्धि तीव्र भएको छ। कम्प्युटर चिप्सका लागि हेलियम र मलका लागि सल्फर जस्ता कच्चा पदार्थको अभावले आपूर्ति शृङ्खला संकट निम्त्याएको छ।
यस संकटलाई सम्बोधन गर्न बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र जापानले संयुक्त विज्ञप्ति जारी गर्दै इरानको आक्रामक कार्यहरूको निन्दा गरेका छन्। होर्मुजमा व्यावसायिक ढुवानीको सुरक्षा सुनिश्चित गर्न उपयुक्त प्रयासमा सामेल हुने प्रतिबद्धता जनाएका छन्। इरानलाई धम्की, समुद्री माइन बिछ्याउने, ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तुरुन्त बन्द गर्न आह्वान गरिएको छ। तर युद्ध चलिरहेकै बेला प्रत्यक्ष सैन्य संलग्नतामा धेरै सतर्क देखिएका छन्। नेटोमा रहेका केही देशले अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिएपनि आफै कोही पनि युद्धमा सामेल भएका छैनन्।
ट्रम्पले अमेरिकाले अब सहयोगीहरूको आवश्यकता नपर्ने र मुख्य उद्देश्यहरू पूरा हुँदै गएको बताएका छन्। तर होर्मुज खोल्न अन्य राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने जोड दिएका छन्। एजेन्सी
प्रकाशित: ७ चैत्र २०८२ १३:०० शनिबार





