२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका भित्रैबाट आक्रमण हुनसक्ने ट्रम्पको डर, प्रमुख सहर नै असुरक्षित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्रबाटै ‘आक्रमण’ को सम्भावना रहेको भन्दै चेतावनी दिएका छन्। मंगलबार शीर्ष सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै ट्रम्पले उक्त आक्रमणलाई ‘विदेशी शत्रुभन्दा फरक नभएको र अझै गाह्रो’ भन्दै चिन्ता व्यक्त गरेका छन्। 

ट्रम्पका अनुसार यस्ता शत्रुहरूले बर्दी नलगाउने भएकाले पत्ता लगाउन कठिन छ। भर्जिनियाको क्वान्टिकोस्थित मरिन कर्प्स बेसमा शीर्ष अमेरिकी सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भित्री सहरहरूमा सुरक्षा चुनौती रहेको टिप्पणी गरे। उनले रक्षा मन्त्री पिट हेग्सेथलाई खतरा रहेका अमेरिकी सहरहरूलाई सैन्य तथा नेसनल गार्ड प्रशिक्षणका लागि प्रयोग गर्न सुझाव दिए। 

‘हाम्रा भित्री सहरहरू अहिले युद्धको ठुलो हिस्सा बनेका छन्,’ ट्रम्पले भने,‘मैले पिटलाई भनेँ–यी खतरनाक सहरहरूलाई हामीले हाम्रो सेना र नेसनल गार्डको प्रशिक्षण मैदान बनाउनुपर्छ। हामी चाँडै सिकागो जाँदै छौँ।’

राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, सिकागो, न्यु योर्क र लस एन्जलसलाई विशेष गरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई एक–एक गरेर सम्बोधन गर्ने बताए। 

‘सान फ्रान्सिस्को, सिकागो, न्यु योर्क, लस एन्जलस, यी सबै धेरै असुरक्षित ठाउँहरू हुन् । हामी तिनीहरूलाई एक–एक गरेर समाधान गर्नेछौँ । यो हाम्रो लागि एउटा प्रमुख युद्ध हो र यो भित्रैबाट हुने युद्ध हो,’ ट्रम्पले भने। 

यसअघि सेप्टेम्बर २१ मा राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गरेका थिए। उनले सो क्षेत्रलाई गत वर्षको तुलनामा पूर्ण रूपमा फरक र सुरक्षित भएको बताउँदै यसलाई आफ्नो प्रशासनको ‘सुशासन र कडाइका कारण सम्भव भएको’ दाबी गरे। 

यसैबिच अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत सिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरेको बताइएको छ । रासस/एएएनआई

प्रकाशित: १५ आश्विन २०८२ २०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App