अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन्।
उनले इरानलाई आणविक हतियार विकास गर्न वा प्रयोग गर्न दिनु विश्वका लागि गम्भीर जोखिम हुने तर्क गर्दै त्यसलाई रोक्न पूर्वसक्रिय सैन्य कारबाही आवश्यक भएको बताए।
मिचिगनमा आयोजित चुनावी सभाअघि फक्स २ टेलिभिजनसँग कुरा गर्दै ट्रम्पले इरानसँग आणविक हतियार भए त्यसको प्रयोग हुन सक्ने दाबी गरे।
आणविक द्वन्द्वबाट हुने सम्भावित मानवीय क्षति रोक्न आफूले पहिले नै कारबाही गरेको उनको भनाइ थियो। अमेरिकी आक्रमणले इरानको आणविक क्षमता आफूले अपेक्षा गरेभन्दा पनि बढी नष्ट गरेको उनले दाबी गरे।
विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला ट्रम्पले रणनीतिक महत्त्वको हर्मुज जलघाँटी हुँदै हुने तेल ढुवानी युद्ध सुरु हुनुअघिको स्तरभन्दा बढेको बताए।
उनले यसका लागि अमेरिकी नौसेनाको नाकाबन्दी र सैन्य क्षमतालाई श्रेय दिए।
ट्रम्पका अनुसार युद्धका कारण तेलको मूल्य केही बढ्ने उनलाई पहिले नै थाहा थियो। तर, अहिले हर्मुज जलघाँटी हुँदै बाहिरिने तेलको मात्रा युद्धअघिको भन्दा बढी रहेको उनले दाबी गरे।
अमेरिकी नौसेना प्रभावकारी रहेको उल्लेख गर्दै उनले जलमार्गमा जारी नाकाबन्दीले तेलको आवागमन कायम राख्न सहयोग गरेको बताए।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानविरुद्ध थप सैन्य कारबाही गर्नु तर्कसङ्गत नहुने बताए। उनले अर्को युद्ध सुरु भए पनि इरानको नीति परिवर्तन नहुने स्पष्ट पारे।
इरानको समाचार संस्था आइएसएनएका अनुसार विदेश नीतिमा सहमति निर्माण गर्न सैयद कमल खर्राजीले निर्वाह गर्नुभएको भूमिकासम्बन्धी विशेष कार्यक्रम, खर्राजी दस्तावेज केन्द्र तथा सङ्ग्रहालय र विदेश मन्त्रालयको विशेष पुस्तकालय उद्घाटन समारोहमा अराघचीले यस्तो धारणा राखेका हुन्।
‘फेरि युद्धको चर्चा सुरु भएको छ, तर युद्ध होस् वा नहोस्, हाम्रा नीति यथावत् रहनेछन्’, उनले भने।एएनआई
प्रकाशित: ९ कार्तिक २०८३ १८:२८ सोमबार


-600x400.jpg)

-600x400.jpg)
