२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमाथि सैन्य हमला गर्ने धम्कीबिच ट्रम्पको दाबी : ३२ हजार प्रदर्शनकारी मारिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानमा भएको सरकारविरोध प्रदर्शनमा ३२ हजार जनाको मृत्यु भएको दाबी गरेका छन्। उनले इरानमाथि सीमित सैन्य हमलाको विचार गरिरहेको धम्कीबिच यस्तो बताएका हुन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानको आणविक कार्यक्रम रोक्न दबाब दिन सैन्य परिचालनको तयारी भइरहेको संकेत गरे।

ट्रम्पले भने, ‘उनीहरूले निष्पक्ष सम्झौता गर्नुपर्छ। इरानका जनता आफ्ना नेताहरूभन्दा धेरै फरक छन् र यो धेरै दुःखद अवस्था हो। छोटो अवधिमा त्यहाँ ३२ हजार मानिसहरू मारिए।’

उनले इरानले प्रदर्शनकारीलाई फाँसी दिने योजना बनाएको तर आफ्नो चेतावनीपछि रोकिएको दाबी समेत गरेका छन्। इरान सरकारले भने प्रदर्शनमा तीन हजारभन्दा धेरैको मृत्यु भएको स्वीकार गरेको छ।

ट्रम्पले भने, ‘उनीहरूले ८३७ जनालाई फाँसी दिने योजना बनाएका थिए। मैले उनीहरूलाई सन्देश पठाएँ कि यदि तपाईंले एक जनालाई पनि फाँसी दिनुभयो भने, तपाईंलाई तुरुन्तै निशाना बनाइनेछ र उनीहरूले फाँसी रोके।’

यसअघि उनले आगामी १० दिनभित्र सम्झौता नभए अमेरिकाले कडा कदम चाल्ने बताएका थिए। यता इरानी विदेशमन्त्री अब्बास अराक्चीले भने सम्झौताको मस्यौदा तयार भइरहेको र अमेरिकी विशेष दूतलाई बुझाइने बताए। 

यद्यपि, अमेरिका र युरोपेली देशहरूले इरानले लुकिछिपी आणविक हतियार बनाएको आरोप लगाउँदै आएका छन्। एजेन्सी

प्रकाशित: ९ फाल्गुन २०८२ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App