अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 'छिट्टै सम्झौता गर्न सक्षम हुने' सर्तमा आफूले इरानविरुद्ध तय गरेको सैन्य आक्रमण रद्द गरेको घोषणा गरेका छन्।
ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले इरान र मध्य पूर्वका अन्य देशहरूले सम्झौताको मापदण्डमा सहमति भइसकेको भन्दै आक्रमण रोक्न अनुरोध गरेपछि यो निर्णय लिइएको प्रस्ट पारेका हुन्। ट्रम्पका अनुसार नयाँ बन्ने सम्झौतामा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गको तत्काल र पूर्ण खुलासहित इरानको आणविक खतराको सधैंका लागि अन्त्य गर्ने विषय समावेश छ।
उनले विश्वको भविष्यको हित र सफल तथा समृद्ध इरानको अस्तित्वका लागि आक्रमण स्थगन गर्न सहमत भएको बताए। साथै, इजरायल पनि इरानसँगको सम्झौताको यो मार्गमा अमेरिकासँग सहकार्य गर्न सहमत भएको उनको भनाइ छ। तर अमेरिका जुनसुकै परिस्थितिमा पनि कडा रूपमा प्रस्तुत हुन तयार रहेको उनको चेतावनी छ।
यसैबिच, इरानी विदेशमन्त्री अब्बास अराघाचीले टर्की, पाकिस्तान र साउदी अरेबियाका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिका र इजरायलको तर्फबाट हुने जुनसुकै ‘आक्रमण’ को कडा र ‘टिट फर ट्याट’ जवाफ दिने चेतावनी दिएका थिए।
अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी अहिलेसम्मकै कठोर नयाँ आक्रमणको तयारी गरिरहेको भन्ने रिपोर्टहरू बाहिरिएलगत्तै इरानले यस्तो कडा प्रतिक्रिया दिएको थियो।
यसअघि, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग फोन संवाद गर्दै अमेरिकाले इरानसँगको द्वन्द्व थप बढाएमा त्यसले सम्पूर्ण खाडी क्षेत्रको ऊर्जा र अन्य प्रमुख पूर्वाधारमा गम्भीर असर पार्न सक्ने भन्दै गहिरो चिन्ता व्यक्त गरेका थिए।
साउदी पक्षले द्वन्द्व थप नचर्कियोस् भनेर अमेरिका र इरानलाई वार्ताको टेबलमा फर्कन निरन्तर आग्रह गर्दै आएको छ। यस हप्ताको सुरुमा साउदी अरेबियाले इराकमा इरानी-समर्थित मिलिसियाहरूविरुद्धका कारबाहीमा अमेरिकासँग सहयोग गरे पनि समग्र क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा देखिएको छ।
गत फेब्रुअरीको अन्त्यबाट अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता दुवै पक्षबिच हमला र प्रति-हमलाहरू बढ्दै गएका छन्। हालै जोर्डनस्थित अमेरिकी अखडामा इरानले गरेको आक्रमणलाई अमेरिकी सेनाले विफल पारेपछि राष्ट्रपति ट्रम्पले बदला लिने वाचा गरेका थिए।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले तेहरानले गत महिनाको युद्धविराम समझदारी तोडेको, व्यावसायिक जहाजहरूमा गोली हानेको र अमेरिकी सैनिकहरूलाई मारेको भन्दै रोष प्रकट गरेकी थिइन्।
मध्य पूर्वमा बढ्दो तनाव, सम्भावित उडान रद्द र हवाई क्षेत्र बन्द हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अमेरिकी विदेश विभागले यस क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षा सावधानी बढाउन नयाँ सुरक्षा सतर्कता जारी गरेको छ।
द्वन्द्वका कारण विश्व अर्थतन्त्र प्रभावित बन्दै गएको छ, जसले मध्यावधि निर्वाचनको संघारमा रहेका ट्रम्पमाथि पनि दबाब बढाएको छ।
प्रकाशित: १७ श्रावण २०८३ ०९:०० आइतबार





