२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले इरानमाथि नयाँ सैन्य हमला गर्ने धम्की दिएको केही घण्टामै फिर्ता लिए

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ सैन्य हमला गर्ने धम्की दिएको केही घण्टामै फिर्ता लिएका छन्।

इरानमा ठूलो बम आक्रमण गर्ने र प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने धम्की दिएको केही घण्टापछि नै उनले इरान विरुद्धको योजनाबद्ध हवाई आक्रमण फिर्ता लिएका हुन्। ट्रम्पले इरानसँगको वार्ता उच्च स्तरमा पुगेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम स्तरमा पुगेको र स्वीकृत भएको कुरालाई ध्यानमा राख्दै अमेरिकाको राष्ट्रपतिको रूपमा आफूले इरान विरुद्ध योजनाबद्ध हमला रद्द गरेको बताएका हुन्।

एक टेलिभिजन कार्यक्रममा बोल्दै ट्रम्पले वार्ता लगभग सम्पन्न भएको र इरानले आणविक हतियार नराख्ने सहमति जनाएको बताएका छन्। तनाव कम गर्ने प्रयासमा आफूहरूले चाहेको सबै कुरा पाएको भन्दै मानिसहरू चाँडै घर फर्कने उनले बताएका छन्।

उनले आगामी दिनहरूमा युरोपमा हुने हस्ताक्षर समारोहमा उपराष्ट्रपति सहभागी हुन सक्ने संकेत गरेका छन्। ट्रम्पले महान सम्झौता भएको दाबी गरे पनि इरानले भने यसको पुष्टि गरेको छैन। इरानको विदेश मन्त्रालयका प्रवक्ताले देश कुनै पनि सम्झौताको अन्तिम निर्णयमा नपुगेको स्पष्ट पार्दै सम्झौताको रिपोर्ट केवल अनुमान मात्र भएको बताए। ट्रम्पले पनि यो लेनदेन अन्तिम रूपमा नसकिँदासम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने उल्लेख गरेका छन्।

यसअघि अमेरिका र इरानबिच भएका आक्रमण र प्रत्याक्रमणले मध्यपूर्वलाई पूर्ण युद्धको नजिक पुर्‍याएको थियो। ट्रम्पले इरानको ९० प्रतिशत कच्चा तेल निर्यात सम्हाल्ने खार्ग टापु कब्जा गर्ने धम्की दिएपछि तेहरानले प्रतिक्रिया दिएको थियो। यही तनावका बिच ओमान नजिकै भारतीय नाविकहरू सवार जहाजहरूमा अमेरिकी आक्रमण भएपछि भारतले कडा विरोध गरेको छ। अमेरिकी आक्रमणका कारण भारतीय चालक दलसहितका ट्यांकरमा आगलागी हुँदा तीन भारतीयको मृत्यु भएको छ र केही बेपत्ता छन्। यसबारे भारतीय विदेश मन्त्रालयले अमेरिकी राजदूतलाई बोलाएर विरोध दर्ता गराएको छ र आक्रमण रोक्न माग गरेको छ।

क्षेत्रीय तनाव बढ्दै जाँदा जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका पाँच क्षेप्यास्त्रहरूलाई आकाशमै रोकेर नष्ट गरेको दाबी गरेको छ। यसैबिच रूसले अमेरिका र इरान दुवैलाई संयम अपनाउन सैन्य कारबाही रोक्न र कूटनीतिक बाटो अपनाउन आग्रह गरेको छ भने कतारको प्रतिनिधिमण्डल इरान पुगेर तनाव कम गर्न प्रयासरत छ। एजेन्सी

प्रकाशित: २९ जेष्ठ २०८३ ०७:२६ शुक्रबार