२५ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूस-युक्रेनबिच ‘ऊर्जा यु`द्धविराम’ भएको ट्रम्पको घोषणा

सर्त भने खुलाएनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन ऊर्जा क्षेत्रमा आक्रमण रोक्न सहमत भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले युद्धविराम तत्काल लागू भएको उल्लेख गरे पनि यसको सर्तबारे विस्तृत जानकारी दिएनन्। ‘यसलाई नतोड्नुहोस्!’ ट्रम्पले लेखेका छन्। तर रूस र युक्रेन दुवैले उनको घोषणाबारे तत्काल प्रतिक्रिया दिएका छैनन्।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने हो भने युक्रेन पनि रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न तयार रहेको बताएका थिए। उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई रूसमाथि सहमतिका लागि दबाब दिन आग्रह गरेका थिए। जेलेन्स्कीले एबीसीसँगको अन्तर्वार्तामा युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न रूसलाई स्पष्ट सन्देश दिन ट्रम्पसँग आग्रह गरेका हुन्।

यसैबिच, ट्रम्पले शनिबार युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्ने समय आएको बताएका थिए। उनले जेलेन्स्कीले युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको आरोप पनि लगाए। ट्रम्पले रूसले ६० दिनको युद्धविराम स्वीकार गरे युक्रेनमा चुनाव गराउन सकिने बताएका थिए। त्यसको जवाफमा जेलेन्स्कीले पूर्ण युद्धविराम भए ६० दिनभित्र चुनाव गराउन तयार रहेको बताए। तर उनले चुनावको निर्णय युक्रेनी जनताले गर्नुपर्ने र मतदानका लागि सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिए।

रूसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरको आक्रमण सुरु गरेपछि युक्रेनमा सैनिक शासन लागू छ। युक्रेनी संविधानअनुसार सैनिक शासन कायम रहँदासम्म चुनाव गराउन पाइँदैन। युद्धका कारण लाखौं युक्रेनी विदेशमा छन् भने देशको ठुलो भूभाग रूसी नियन्त्रणमा छ। त्यसैले देशव्यापी चुनाव गराउन सुरक्षा र व्यवस्थापनसम्बन्धी चुनौती छन्।

ऊर्जा युद्धविरामबारे चर्चा भइरहेका बेला युक्रेनले रूसभित्रका पूर्वाधारमा आक्रमण जारी राखेको छ। आइतबार रूसी प्रविधि कम्पनी यान्डेक्सको भ्लादिमिरस्थित डेटा सेन्टरमा ड्रोन आक्रमण भएपछि सेवा बन्द भएको रूसी स्वतन्त्र सञ्चारमाध्यम एस्ट्राले जनाएको छ। आक्रमणका कारण रूसका विभिन्न सहरसहित काजाकिस्तान, बेलारुस र आर्मेनियाका प्रयोगकर्ताले ट्याक्सी अर्डर गर्ने र बैंकिङ सेवा प्रयोग गर्ने क्रममा समस्या भोगेका थिए।

यान्डेक्स क्लाउडले डेटा सेन्टरको पूर्वाधारमा क्षति पुगेको र सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ। घटनामा कोही घाइते नभएको कम्पनीले बताएको छ। यो चार दिनभित्र यान्डेक्सका डेटा सेन्टरमा भएको तेस्रो आक्रमण हो। यसअघि रियाजान र कालुगा क्षेत्रका डेटा सेन्टरमा पनि आक्रमण भएको थियो। यान्डेक्स रूसको प्रमुख खोज इन्जिन तथा ट्याक्सी, किनमेल र अन्य डिजिटल सेवा उपलब्ध गराउने कम्पनी हो।

यसैबिच, युक्रेनको दक्षिणी सहर जापोरिझियामा रूसी बम आक्रमणपछि खोज तथा उद्धार कार्य सकिएको अधिकारीहरूले बताएका छन्। जेलेन्स्कीका अनुसार घटनामा चार बालबालिकासहित २३ जनाको मृत्यु भएको छ। ३० भन्दा बढी घाइते भएका छन्, जसमध्ये आठ जना अस्पतालमा उपचाररत छन्।

रूसको ब्रायान्स्क सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण हुँदा एक पुरुषको मृत्यु भएको र दुई महिला घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एजेन्सी 

प्रकाशित: २५ आश्विन २०८३ २१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App