२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प प्रशासनले इरान युद्धमा मारिएका सैनिकहरूको वास्तविक संख्या लुकाउन खोजिरहेको खुलासा

अमेरिका र इरानबिच पुनः सुरु भएको लडाईंमा ज्यान गुमाएका अमेरिकी सैनिकहरूको तथ्यांकलाई लिएर पेन्टागनको भूमिका शंकास्पद देखिएको छ। 

हालैका हप्ताहरूमा इरानसँगको नयाँ द्वन्द्वका क्रममा मारिएका चार अमेरिकी सैनिकहरूलाई पेन्टागनको आधिकारिक हताहत गणनाबाट हटाइएको छ। ती सैनिकहरूलाई अब इरान युद्धको मृत्यु संख्यामा नभई एक छुट्टै श्रेणीमा राखिएको छ। ट्रम्प प्रशासनले होर्मुजको जलमार्ग पुन: खोल्ने प्रयासस्वरूप इरानमाथि आक्रमण तीव्र पारिरहेको बेला यो कदम चालिएको हो। अमेरिकी नागरिकहरूमाझ यो द्वन्द्व पहिलेदेखि नै अलोकप्रिय बनेको छ। यसबाट युद्धले अमेरिकी सैनिकहरूमा पार्ने वास्तविक प्रभाव लुकाउन खोजेको हो कि भन्ने गम्भीर प्रश्न उठाएको छ।

एपीका अनुसार पेन्टागनले द्वन्द्वमा ज्यान गुमाउने र घाइते हुनेहरूको आधिकारिक स्रोत मान्ने रक्षा दुर्घटना विश्लेषण प्रणालीको वेबसाइटबाट गत हप्ता चार जना मारिएका सैनिक र दर्जनौं घाइतेहरूको नाम हटाइएको हो। त्यसपछि आइतबार उक्त प्रणालीमा 'ओभरसीज अपरेशन्स' नामक नयाँ श्रेणी देखियो, जसमा चार जना सैनिकको मृत्यु र २०७ जना घाइते उल्लेख गरिएको छ। तर, ती घाइतेहरू सबै इरान द्वन्द्वकै हुन् वा होइनन् भन्ने स्पष्ट छैन।

मध्यपूर्व क्षेत्रका गतिविधिलाई हेर्ने अमेरिकी केन्द्रीय कमान्डले यससम्बन्धी प्रश्नहरू पेन्टागनलाई पठाएको थियो भने ह्वाइट हाउसले पनि यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। पेन्टागनले भने तथ्यांकमा देखिएको यो फेरबदललाई 'डेटा अवरोध' भनेर टार्न खोजेको छ।

पेन्टागनका प्रेस सचिव जोएल भाल्डेजले अनलाइन प्रणालीमा हताहतको संख्या घटेको घटना युद्धको मानवीय क्षति लुकाउने नियत नभई 'विसंगतिहरू' र 'अस्थायी डेटा अवरोधहरू' मात्र भएको तर्क गरेका छन्। उनले ती त्रुटिहरू तत्काल समाधान भइरहेको बताएका छन्।

यसअघि मंगलबारसम्म उक्त वेबसाइटले युद्धमा १८ जनाको मृत्यु र ४८२ जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको थियो। गत महिना मात्रै अन्तरिम युद्धविराम सम्झौतामा हस्ताक्षर भए पनि लडाईं पुनः सुरु भएपछि थप चार सैनिकले ज्यान गुमाइसकेका छन्। जुलाई १७ मा जोर्डनको एक अड्डामा इरानी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट तीन जना तथा त्यसको एक दिनपछि इराकमा इरानी ड्रोनको विस्फोटबाट एक जना सैनिक मारिएका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा इरान सैन्य द्वन्द्वका कारण १८ जनाको ज्यान गएको कुरा पुष्टि गरेका थिए। यद्यपि, बुधबारसम्म पेन्टागनको प्रणालीमा इरान युद्धको मृत्यु संख्या १४ मा झारिएको थियो र घाइतेको संख्या पनि घटाइएको थियो। एक अमेरिकी अधिकारीले एपीलाई दिएको जानकारी अनुसार युद्धमा घाइते हुनेहरूको वास्तविक संख्या भने ५०० भन्दा बढी पुगिसकेको छ।

पेन्टागनका शीर्ष प्रवक्ता शन पार्नेलले पनि तथ्यांकमा देखिएको यो घटबढलाई अस्थायी प्राविधिक समस्या मात्रै भएको दाबी गरेका छन्।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्धको घोषणा गरेका थिए। सुरुवाती चरणमा १४ अमेरिकी सैनिकको ज्यान गएको थियो। वाशिंगटन र तेहरानबिच अप्रिलमा युद्धविराम भएर जुनको मध्यमा युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता भए पनि त्यो लामो समय टिकेन।

इरानले जुलाई ७ मा ओमानको तट नजिकै होर्मुजको जलमार्गममा अमेरिकी निगरानीमा रहेका तीन वटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि स्थिति बिग्रिएको थियो। ऊर्जा ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यो करिडोरमा आक्रमण भएपछि अमेरिकी सेनाले पनि जवाफी कारबाही सुरु गर्‍यो र राष्ट्रपति ट्रम्पले युद्धविराम भंग भएको घोषणा गरे।

नयाँ शत्रुता सुरु भएयता पेन्टागनले सैन्य रणनीति र हताहतको विवरण दिन कन्जुस्याइँ गर्दै आएको छ। मे महिनाको सुरुदेखि यता पेन्टागनले युद्धबारे कुनैपनि आधिकारिक प्रेस ब्रिफिङ गरेको छैन। अमेरिकी केन्द्रीय कमान्डले पनि पत्रकारहरूलाई हताहतको अद्यावधिक जानकारी दिन बन्द गरेको छ। यद्यपि, पेन्टागनका अधिकारीहरूले पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता कायम रहेको दाबी गर्दै आएका छन्। एजेन्सी

प्रकाशित: ११ श्रावण २०८३ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App