अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुजको प्रमुख स्ट्रेटबाट जाने तेलको व्यवस्थापनमा ‘धेरै खराब काम’ गरेको आरोप लगाएका छन्। उनले यो आफूहरुसँग भएको सम्झौता नभएको बताएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सरकारले लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्ने बताएपछि ट्रम्पले यस्तो बताएका हुन्।
अमेरिकी विदेश विभागका एक अधिकारीले अर्को हप्ता वाशिंगटनमा इजरायल र लेबनानसँग जारी युद्धविराम वार्ताको बारेमा छलफल हुने बताए।
लेबनानी अधिकारीहरूले वार्ता सुरु हुनुभन्दा पहिले युद्धविरामको लागि आह्वान गरेका थिए। तर नेतान्याहूले उत्तरी इजरायलका बासिन्दाहरूलाई सम्बोधन गर्दै लेबनानमा कुनै युद्धविराम नरहेको बताए।
लेबनानमा बिहीबार भरी इजरायली आक्रमण जारी रहेको थियो। दक्षिणमा रहेको हेजबुल्लाहलाई लक्षित गर्दै इजरायलले आक्रमण गरिरहेको थियो।
ट्रम्पले एक अन्तर्वार्तामा इजरायलले शान्ति वार्तालाई समर्थन गर्न आक्रमणहरूबाट पछि हट्ने बताए। ‘मैले बीबीसँग कुरा गरें र उनी यसलाई हल्का रूपमा लिनेछन्। मलाई लाग्छ कि हामी अलि बढी हल्का हुनुपर्छ,’ट्रम्पले नेतान्याहूसँगको फोन वार्तापछि एनबीसी न्यूजलाई भने।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक्समा दुई प्रमुख अस्पतालहरू सहित ज्नाह क्षेत्रमा लगभग ४५० बिरामीहरू (आईसीयूमा ४० बिरामी) रहेको बताए। त्यँहा वैकल्पिक चिकित्सा सुविधाहरू उपलब्ध नभएकोले जोखिम बढ्दै गएको उनको भनाइ छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले बुधबारको इजरायली हमलामा १,१५० जना घाइते भएका र ३०३ जनाको मृत्यु भएको बताएको थियो।
इरानले युद्धविराममा लेबनानलाई पनि समावेश गर्ने बताइरहँदा अमेरिकी र इजरायली अधिकारीहरूले त्यहाँ युद्ध जारी रहने बताएका छन्।
लेबनानमा इजरायली आक्रमणले होर्मुज स्ट्रेटको बाटो रोकिरहेको स्पष्ट भएको छ। यसले फेरी बदला र युद्धको जोखिम बढाएको छ। एजेन्सी
प्रकाशित: २७ चैत्र २०८२ ०८:३७ शुक्रबार





