२ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान–पाकिस्तान सीमामा व्यापार र आवागमन बन्द

प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ।

दुवै देशका अधिकारीहरू सीमा नाकालाई सकेसम्म चाँडो सामान्य सञ्चालनमा फर्काउन परामर्शमा जुटेका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार केही प्राविधिक समस्याका साथै सावधानीका उपाय आवश्यक भएकाले सीमापार आवागमन अस्थायी रूपमा स्थगित गरिएको बताए।

इरानी समाचार संस्था इरनाका अनुसार उनले दुवै देशका सम्बन्धित अधिकारीहरू समस्या समाधान गर्न नजिकबाट काम गरिरहेको जानकारी दिए।

यसैबीच, पाकिस्तानले शुक्रबारदेखि गब्द–रिमदान र तफ्तानका आधिकारिक सीमा नाकामार्फत हुने व्यापार रोकेको छ।

पाकिस्तानी समाचारपत्र डनका अनुसार वाणिज्य मन्त्रालयले अक्टोबर ३ मा जारी गरेको अघिल्लो आदेश खारेज गर्दै नयाँ आधिकारिक सूचना जारी गरेपछि व्यापार रोकिएको हो।

बलुचिस्तानका मुख्यमन्त्रीका सञ्चार तथा राजनीतिक मामिलासम्बन्धी सल्लाहकार शाहिद रिन्डले सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा सुदृढ बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा प्रशासनलाई व्यवस्थित गर्नु रहेको बताए।

उनले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट खबरमा विश्वास नगर्न आग्रह गर्दै सीमा बन्द गर्ने निर्णय दुवैतर्फको सुरक्षा अवस्था र प्रशासनिक समस्या सुधार्न आवश्यक रहेको उल्लेख गरे।

रिन्डका अनुसार दुवै देशका उच्च अधिकारीहरू बाँकी प्रशासनिक समस्या समाधान गर्न वार्तामा छन्।

सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन र अवैध तस्करी सञ्जाल नियन्त्रण गर्न समन्वित प्रणाली स्थापना गर्ने कामसमेत भइरहेको उनले बताए।

उनले हाल भइरहेको प्रगतिका आधारमा पाकिस्तान–इरान सीमा चाँडै पुनः खुल्न सक्ने आशा व्यक्त गरे।

प्रकाशित: २ कार्तिक २०८३ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App