संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागोमा युद्ध घोषणा गर्ने धम्की दिएपछि त्यसको विरोधमा शिकागो र वाशिंगटन डीसीमा हजारौं मानिसहरूले विरोध प्रदर्शन गरेका छन्। ट्रम्पले डेमोक्र्याटिक नेतृत्वका सहरहरूमा संघीय सेना र अध्यागमन एजेन्टहरू तैनाथ गर्ने धम्की दिएपछि यो विरोध थप चर्किएको हो।
शनिबार ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा भियतनाम युद्धसम्बन्धी चर्चित फिल्म ‘एपोक्यालिप्स नाउ’ को प्यारोडी गर्दै शिकागोको क्षितिजमा आगोको गोला र हेलिकप्टरको तस्बिर पोस्ट गरेका थिए। यसअघि पनि उनले रक्षा विभागको नाम परिवर्तन गरी ‘युद्ध विभाग’ राख्ने आदेशमा हस्ताक्षर गरिसकेका छन्।
ट्रम्पको धम्कीप्रति इलिनोइसका गभर्नर जेबी प्रिट्जकर र शिकागोका मेयर ब्रान्डन जोनसनले कडा आक्रोश व्यक्त गरेका छन्। गभर्नर प्रिट्जकरले ट्रम्पलाई तानाशाह बन्न चाहने व्यक्तिको संज्ञा दिँदै उनको धम्कीबाट राज्य नडराउने बताएका छन् भने मेयर जोनसनले ट्रम्पको धम्कीलाई राष्ट्रको सम्मानभन्दा कम भन्दै निन्दा गरेका छन्। उनले भने, 'वास्तवमा उनी हाम्रो सहर कब्जा गर्न र हाम्रो संविधान तोड्न चाहन्छन्। हामीले एकअर्कालाई बचाएर यो अधिनायकवादबाट हाम्रो लोकतन्त्रको रक्षा गर्नुपर्छ।'
शिकागोमा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए, जहाँ उनीहरूले अध्यागमन र भन्सार प्रवर्तन एजेन्सी विरुद्ध नारा लगाएका थिए। उनीहरूले गाजाको परिस्थितिसँग तुलना गर्दै भने, 'हामी गाजामा प्यालेस्टिनीहरूको दृढताबाट प्रेरित छौं र हामी ट्रम्प र उनको धम्कीसामु झुक्न अस्वीकार गर्छौं'
यता वाशिंगटन डीसीको मार्चमा पनि हजारौं प्रदर्शनकारीले अमेरिकी राजधानीमा संघीय सेना तैनाथ गरिएकोमा विरोध जनाएका छन्। उनीहरूले निरंकुशताको प्रतिरोध गरौ, ट्रम्प अब जानुपर्छ जस्ता नारा लगाएका थिए। करिब एक दशकदेखि डीसीमा बसोबास गर्दै आएका पूर्व अमेरिकी कूटनीतिज्ञ मार्क फिट्जप्याट्रिकले ट्रम्पको यो कदमलाई हाम्रो सहरको लोकतन्त्रको अपमान भनेर टिप्पणी गरका छन्।
ट्रम्पले हिंसात्मक अपराध रोक्नका लागि सेना तैनाथ गरेको बताए पनि आलोचकहरूले यसलाई तानाशाही शक्ति प्रदर्शनको संज्ञा दिएका छन्। ट्रम्प स्वयंले पनि आफूसँग असीमित शक्तिहरूू भएको संकेत गरेका छन्। उनका यी कदमहरूले देशमा संघीय सरकारको अधिकार र स्थानीय स्वायत्तताबीचको तनावलाई उजागर गरेको छ, यसले कानुनी तथा राजनीतिक चुनौतीहरू पनि निम्त्याएको छ।
एजेन्सी
प्रकाशित: २२ भाद्र २०८२ ०९:३० आइतबार




-600x400.jpg)
