२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

भारतको प्रमुख विपक्षी दल कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्ना पति राजीव गान्धी प्रधानमन्त्री बनेको आफूले चाहना नराखेको खुलासा गरेकी छन्। 

परिवारमा भएको राजनीतिक हिंसा र हत्याका घटनाले आफूलाई सधैं त्रसित बनाएको उनले आफ्नो संस्मरणमा उल्लेख गरेकी छन्।

सोनियाको ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ शीर्षकको पुस्तक मंगलबार सार्वजनिक भएको हो। पुस्तकमा उनले राजीवसँगको प्रेम, पारिवारिक जीवन, राजनीतिक जिम्मेवारी र जीवनका कठिन अनुभव समेटेकी छन्।

सन् १९४६ मा इटालीको क्याथोलिक परिवारमा जन्मिएकी सोनियाले सन् १९६५ मा बेलायतको क्याम्ब्रिजमा अध्ययनरत राजीवलाई भेटेकी थिइन्। उनीहरूबिचको प्रेम विवाहमा परिणत भयो। सन् १९६८ मा विवाह गरेपछि उनी भारत आएकी थिइन्।

राजीवकी आमा इन्दिरा गान्धी भारतको प्रधानमन्त्री थिइन्। सन् १९८४ मा इन्दिराको हत्या भएपछि परिवारमा सुरक्षालाई लिएर त्रास बढेको थियो। सोनियाका अनुसार त्यसपछि उनीहरूलाई सधैं राजीवको पनि हत्या हुन सक्ने डर थियो। उनीहरू सँगै हुँदा एक जनालाई केही भए अर्को पनि सुरक्षित नरहने सोचले सताउने गरेको उनले उल्लेख गरेकी छन्।

सोनियाले राजीवलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्न पनि आफूले निकै प्रयास गरेको बताएकी छन्। परिवारले भोगेको हिंसाका कारण उनी राजीवको राजनीतिक यात्रालाई लिएर चिन्तित थिइन्।

सन् १९९१ मे २१ मा तमिलनाडुको श्रीपेरुम्बुदुरमा चुनावी सभाका क्रममा आत्मघाती बम आक्रमणमा राजीवको हत्या भयो। उक्त घटनामा राजीवसहित अन्य १४ जनाको ज्यान गएको थियो।

सोनियाले राजीवको सुरक्षामा गम्भीर कमजोरी भएको पनि संस्मरणमा उल्लेख गरेकी छन्। उनका अनुसार राजीवको सुरक्षामा खटिएको विशेष सुरक्षा समूह (एसपीजी) को सुरक्षा हटाइएपछि त्यसको ठाउँमा स्थानीय प्रहरीलाई जिम्मेवारी दिइएको थियो। उनले राजीवको सुरक्षासम्बन्धी खतरा मूल्यांकन नगरी यस्तो निर्णय गरिएको बताएकी छन्।

राजीवको हत्यापछि सोनिया छोरा राहुल र छोरी प्रियंकाको पालनपोषणमा केन्द्रित भइन्। पछि सन् १९९८ मा कांग्रेस नेताहरूको आग्रहमा उनले पार्टीको नेतृत्व सम्हालिन्।

सन् २००४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएपछि सोनियाले प्रधानमन्त्री बन्न अस्वीकार गर्दै मनमोहन सिंहलाई उक्त जिम्मेवारी दिइन्। त्यसबेला उनका छोरा राहुल र छोरी प्रियंका पनि उनी प्रधानमन्त्री बनेको चाहँदैनथे। उनीहरूलाई पनि परिवारले भोगेका हत्याका घटनाले सुरक्षा जोखिमको चिन्ता थियो। 

सोनियाको संस्मरणले उनको व्यक्तिगत जीवनसँगै नेहरु-गान्धी परिवारले भोगेको राजनीतिक हिंसा र त्यसले परिवारमा पारेको प्रभावलाई पनि उजागर गरेको छ। एजेन्सी

प्रकाशित: २४ कार्तिक २०८३ १६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App