दक्षिण-पूर्वी स्पेनमा फैलिएको इतिहासकै भयानक डढेलो नियन्त्रणका लागि उद्धारकर्मीहरू तीव्र रूपमा खटिरहेका छन्। स्पेनको आल्मेरिया प्रान्तअन्तर्गत लस गालार्डोस क्षेत्रको बेदार गाउँ आसपास फैलिएको आगलागीमा परी अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भइसकेको छ भने अन्य २३ जना अझै बेपत्ता छन्।
आगलागी नियन्त्रणका लागि सयौँको सङ्ख्यामा अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। स्पेनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये चार जना बेलायती नागरिक रहेको पुष्टि भएको छ।
स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिँदै मृतक र बेपत्ता हुनेमा थप बेलायती नागरिक हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
४० डिग्री सेल्सियस आसपासको तापक्रमसहित लामो समयदेखि जारी हिटवेभका कारण यस गर्मीयाममा दक्षिणी युरोप, विशेषगरी फ्रान्स, पोर्चुगल र स्पेनमा व्यापक डढेलो लागिरहेको छ।
अत्यधिक तापक्रम, सुक्खा जमिन र शक्तिशाली हावाका कारण बिहीबार दिउँसो लस गालार्डोसमा लागेको आगो तीव्र गतिमा फैलिएको थियो।
आगलागीको कारण बिजुलीको तार चुँडिनु रहेको प्रारम्भिक अनुमान गरिएको भए पनि स्थानीय विद्युत् कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। जलेको कारभित्र फेला परेका चार जना मृतकको विस्तृत विवरण खुलाइएको छैन।
यद्यपि, आन्डालुसियाका स्वास्थ्य तथा आपत्कालीन मन्त्री एन्टोनियो सान्जले ती मृतकहरू ‘बेलायती मूलको’ हुन सक्ने र कारको स्टेयरिङ दाहिनेतर्फ रहेको जानकारी दिए।
बिहीबार मात्रै आफ्ना पति र किशोर उमेरका छोराछोरीसँग बिदा मनाउन बेदार आइपुगेकी लुसिन्डा कुर्टोइसले आगलागीको दृश्यलाई बम विस्फोटसँग तुलना गरिन्।
‘त्यहाँ धुवाँको च्याउ जत्रो मुस्लो उठेको थियो, मानौँ कुनै बम पड्किएको होस्,’ उनले भनिन्। कुर्टोइसले बीबीसीसँग कुरा गर्दै थप दुई बेलायती नागरिकको ज्यान गएको हुन सक्ने आशङ्का व्यक्त गरिन्।
बेदारका अधिकारीहरूले मृत्यु हुनेमध्ये केहीले सिफारिस गरिएको सुरक्षित निकासी मार्ग प्रयोग नगरेको बताएका छन्। यद्यपि, उक्त मार्गबारे कत्तिको स्पष्ट जानकारी गराइएको थियो भन्ने अझै खुल्न सकेको छैन। स्पेनी अधिकारी र लन्डनस्थित विदेश मन्त्रालय दुवैले अहिलेसम्म मृतकको पहिचान खुलाएका छैनन्।
मन्त्री सान्जले आगलागी अत्यन्तै तीव्र र जटिल रहेकाले अधिकांश वा सबै मृतक विदेशी नागरिक हुन सक्ने बताए। बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रेभोटले स्पेनमा धेरै बेल्जियन नागरिकको दोस्रो घर रहेको उल्लेख गर्दै सम्पर्कमा आउन नसकेका आफ्ना नागरिकको खोजी भइरहेको जानकारी दिए।
यसैबीच, राष्ट्रिय मौसम एजेन्सी एईएमईटीको आन्डालुसिया शाखाले शनिबार मध्यम हावा र चिसो मौसमका कारण डढेलो नियन्त्रणमा केही सहजता आउने प्रक्षेपण गरेको छ।
यसअघि सन् १९८४ मा क्यानरी टापुको ला गोमेरामा भएको आगलागीमा २० जना र सन् १९७९ मा उत्तर–पूर्वी स्पेनको लोरेट डे मार नजिकैको जङ्गलमा भएको आगलागीमा ९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो।
कोपर्निकस जलवायु सेवाका अनुसार जलवायु परिवर्तनले विश्वभर तापक्रम बढाइरहेको छ र युरोप विश्वव्यापी औसतभन्दा दोब्बर छिटो तातिरहेको छ। यसैका कारण युरोपमा गर्मीयाममा उष्णलहर बढ्नुका साथै पानीको अभाव र भयानक डढेलोका घटनाहरू वृद्धि भइरहेका छन्।
प्रकाशित: २७ असार २०८३ १०:५६ शनिबार





