अमेरिकी अदालतले लागूऔषध तस्करीको आरोपमा भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको मुद्दाको पेशी तोकेको छ।
अमेरिकी जिल्ला न्यायाधीश एल्भिन हेलरस्टाइनले आगामी वर्षको जुन १, २०२७ मा मुद्दाको सुनुवाइ हुने गरी पेशी तोकेका हुन्। म्यानहट्टन संघीय अदालतमा भएको सुनुवाइमा बेज रंगको जेलको पोशाक लगाएर उपस्थित भएका मादुरो र उनकी पत्नीले आफूमाथिको आरोप अस्वीकार गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आदेशमा गत जनवरी ३ मा राति अमेरिकी कमाण्डोहरूले काराकसस्थित उनीहरूको कडा सुरक्षायुक्त निवासमा सैन्य छापा मारी ६३ वर्षीय मादुरो र ६९ वर्षीय फ्लोरेसलाई अपहरण गरी न्यूयोर्क लगेका थिए। अमेरिकी सरकारले मादुरोले आफ्नो राष्ट्रप्रमुखको पदको दुरुपयोग गर्दै अमेरिकामा कोकेन ओसारपसारको षड्यन्त्र र लागुऔषध-आतंकवादमा संलग्न रहेको चार वटा गम्भीर अभियोग लगाएको छ। अदालतले दोषी ठहर गरेमा उनीहरूलाई आजीवन कारावासको सजाय हुन सक्नेछ।
सुनुवाइको क्रममा मादुरोका वकिल ब्यारी पोलकले मादुरो सार्वभौम राज्यको प्रमुखको रूपमा अभियोजनबाट उन्मुक्ति प्राप्त व्यक्ति रहेको तर्क गर्दै मुद्दा खारेज गर्नका लागि कानुनी कदम चाल्ने बताए। न्यायाधीश हेलरस्टाइनले मादुरोको पक्षबाट मुद्दा खारेज गर्न खोजिएको पहिलो चरणको कानुनी प्रस्तावहरूको लागि सेप्टेम्बर २ को समयसीमा ताकेका छन् भने नोभेम्बर १७ मा बहसको सुनुवाइ हुनेछ। यसअघि जनवरीमा अदालतमा उपस्थित हुँदा मादुरोले आफू ‘युद्धबन्दी’ र संवैधानिक राष्ट्रपति भएको दाबी गरेका थिए।
गत जनवरीमा गरिएको उक्त सैन्य आक्रमणको क्रममा भेनेजुएलाका अधिकारीहरूका अनुसार ८३ जनाको ज्यान गएको थियो। अन्तर्राष्ट्रिय कानुनी विद्वानहरूले उक्त अपहरणलाई गैरकानूनी भने पनि ट्रम्प प्रशासनले यसलाई कानुन प्रवर्तन अपरेशनको रूपमा जायज ठहराएको छ। मादुरोको गिरफ्तारीपछि भेनेजुएलाको सत्ता सम्हालेकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशलाई अमेरिकी हिततर्फ अझ नजिक ल्याएकी छिन् भने अमेरिकाले पनि भेनेजुएलाको तेल उद्योगमाथिको प्रतिबन्धलाई केही खुकुलो पारेको छ। एजेन्सी
प्रकाशित: ७ श्रावण २०८३ ०८:३७ बिहीबार





