अमेरिकाको वासिङटनस्थित ह्वाइट हाउस बाहिर शनिबार साँझ भएको गोलीकाण्डमा मारिएका संदिग्धको पहिचान भएको छ। उनी २१ वर्षीय नासिरे बेस्ट हुन्, जो मेरिल्यान्ड राज्यका बासिन्दा थिए। विभिन्न सञ्चार माध्यमले यो पुष्टि गरेका छन्।
स्रोतका अनुसार संदिग्ध बेस्टलाई अमेरिकी सिक्रेट सर्भिसले सन् २०२५ को जुलाईमा ह्वाइट हाउस प्रवेश गर्न खोज्दा पक्राउ गरेको थियो। त्यसअघि जुन महिनामा उनले ह्वाइट हाउस नजिकै यातायात अवरुद्ध गरेका थिए। ‘म ईश्वर हुँ’ भन्दै बेतुका कुरा गरेका थिए। मानसिक स्वास्थ्य समस्या भएका कारण उनलाई मनोरोग अस्पतालमा पठाइएको थियो। अदालतले उनलाई ह्वाइट हाउसबाट टाढा रहन आदेश दिएको थियो।
सिक्रेट सर्भिसको विज्ञप्तिअनुसार शनिबार साँझ करिब ६ बजेतिर ती व्यक्तिले झोलाबाट हतियार निकालेर गोली चलाएका थिए। सिक्रेट सर्भिस प्रहरीले जवाफी कारबाही गर्दा संदिग्ध घाइते भए र अस्पताल पुर्याइएपछि उनलाई मृत घोषित गरियो। घटनास्थलमा १५ देखि ३० राउन्ड गोली चलेको बताइएको छ।
यो घटनामा एक सर्वसाधारण बटुवा पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर छ। घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। धेरै पत्रकारले गोली चलेको आवाज सुनेका थिए।
एक व्यक्तिले सिक्रेट सर्भिस एजेन्टहरू नजिक गएर गोली चलाउन खोजेका थिए तर सफल भएनन्। एजेन्टहरूले जवाफी गोली चलाएका थिए। एफबीआई र सिक्रेट सर्भिसले संयुक्त अनुसन्धान गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले यो घटनालाई राजनीतिक नभई मानसिक स्वास्थ्य समस्या सँग जोडेका छन्।
यसैबीच, घटनालाई लिएर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हाम्रा महान् सिक्रेट सर्भिस र कानुन प्रवर्तन निकायलाई यो साँझ ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा हिंसात्मक इतिहास भएका र देशको सबैभन्दा प्यारो संरचनाप्रति सम्भावित मोह भएका बन्दुकधारीविरुद्ध चाँडो र व्यावसायिक कारबाहीका लागि धन्यवाद।’
उनले अगाडि लेखेका छन्, ‘ह्वाइट हाउसको गेट नजिक सिक्रेट सर्भिस एजेन्टहरूसँग गोली साटासाटपछि उक्त बन्दुकधारी मरेका छन्। यो घटना ह्वाइट हाउस संवाददाता रात्रिभोजमा भएको गोलीकाण्डको एक महिनापछि भएको हो र यसले भविष्यका सबै राष्ट्रपतिहरूका लागि वासिङटनमा सबैभन्दा सुरक्षित ठाउँ निर्माण गर्न कति महत्वपूर्ण छ भन्ने देखाउँछ। देशको राष्ट्रिय सुरक्षाले यसलाई माग गर्छ।’
प्रकाशित: १० जेष्ठ २०८३ १२:१३ आइतबार





