अमेरिका र इरानले शनिबार पनि होर्मुजको जलमार्गमाथिको नियन्त्रणलाई लिएर भइरहेको युद्धलाई तीव्र पारेका छन्।
दुवै पक्षले एक-अर्काका सैन्य र पूर्वाधारलाई निशाना बनाउँदै निरन्तर आक्रमण गरिरहेका छन्। हालैका दिनहरूमा यो क्षेत्रमा दैनिकजसो आक्रमणका घटना भइरहेका छन्। अमेरिकी केन्द्रीय कमान्डले शनिबार बिहान जानकारी दिएअनुसार लगातार सातौं रातको आक्रमणमा इरानका ‘निगरानी स्थलहरू, सैन्य रसद पूर्वाधार, भूमिगत हतियार भण्डारण र समुद्री क्षमताहरू’ मा क्षति पुगेको छ। यसबिचमा कुवेत, इराक र जोर्डनले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानी क्षेप्यास्त्र र ड्रोनहरू खसालेको बताएका छन्। त्यस्तै, बहराइनमा पनि सुरक्षा सतर्कता अपनाइएको छ।
इरानी अधिकारीहरूका अनुसार हालैका अमेरिकी आक्रमणमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। शुक्रबार पुलमा भएको आक्रमणमा मात्र आठ जनाले ज्यान गुमाए। यता, अमेरिकी सेनाले पनि थप १३ जना सुरक्षाकर्मी घाइते भएको पुष्टि गरेको छ। फेब्रुअरी २८ मा युद्ध सुरु भएयता १४ अमेरिकी सेनाले ज्यान गुमाइसकेका छन् भने ४२७ जना घाइते छन्।
युद्धको असरस्वरूप इरानले होर्मुज जलमार्ग ढुवानीका लागि बन्द गरिदिएको छ, जसका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ। इरानको ऊर्जा मन्त्रालयले अमेरिकी आक्रमणबाट पहिलो पटक ‘विद्युत पूर्वाधारमा क्षति’ पुगेको स्वीकार गर्दै दक्षिणी प्रान्तका नागरिकलाई कम बिजुली प्रयोग गर्न आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धको अवस्था राम्रोसँग अघि बढिरहेको दाबी गरेका छन्। उनले भने, ‘हामी इरानमा ठूलो जित हासिल गर्दैछौं, र तपाईंले त्यसको फल धेरै चाँडै देख्नुहुनेछ।’
अमेरिकी आक्रमणले इरानको दक्षिणी होर्मोज्गान प्रान्तका पुल र राजमार्गहरूमा क्षति पुर्याएको छ। यसको उद्देश्य मुख्य बन्दरगाह बन्दर अब्बासलाई राजधानी तेहरानसँग जोड्ने सडक सञ्जाल काट्नु रहेको देखिन्छ। यसैगरी, भारतको सहयोगमा सञ्चालित चाबहार बन्दरगाहमा पनि अमेरिकी आक्रमण भएको छ। सेन्ट्रल कमान्डको दाबी अनुसार उक्त बन्दरगाहलाई इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले व्यावसायिक जहाजहरूलाई निशाना बनाउन प्रयोग गर्दै आएको थियो।
इरानले भने होर्मुज जलमार्ग आफ्नो एकल नियन्त्रणमा हुनुपर्ने अडान राख्दै आएको छ। यद्यपि विश्वले यसलाई दशकौंदेखि अन्तर्राष्ट्रिय जलमार्ग मान्दै आएको छ। हाल अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसेना नाकाबन्दी लगाउँदै इरानलाई दबाबमा राख्ने रणनीति अपनाएको छ। एजेन्सी
प्रकाशित: २ श्रावण २०८३ ११:२५ शनिबार





