भारतको तमिलनाडुका गभर्नर राजेन्द्र आर्लेकरले टिभीके प्रमुख थालापति विजयलाई मुख्यमन्त्रीको रूपमा मनोनीत गरेका छन्।
विजयको शपथ ग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईको नेहरू स्टेडियममा हुनेछ। साथै उनले मे १३ सम्ममा विधानसभामा विश्वासको प्रस्ताव पेस गर्नुपर्ने तमिलनाडु लोक भवनले पुष्टि गरेको छ।
तमिलनाडुमा सरकार बनाउन आवश्यक संख्याभन्दा बढी विधायक (१२०) को समर्थन पाएपछि, टिभीके नेता विजय तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन गएका थिए।
राज्यपालसँगको भेटमा विजयले भीसीके र आईयूएमएल दलहरूको समर्थन पत्र प्रस्तुत गरे र बहुमतको आधारमा सरकार बनाउने दाबी गरे।
यसअघि शनिबार साँझ, तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएम पछि, भीसीके र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) ले पनि टिभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।
भीसीके नेता थोल थिरुमावलवनले टिभीके नेता आधव अर्जुनलाई पार्टीको समर्थन पत्र प्रस्तुत गरे भने आईयूएमएलले पनि टिभीकेलाई आफ्नो समर्थन जनायो।
भीसीकेबाट समर्थन पत्र प्राप्त गरेपछि आधव अर्जुनले मिडियासँगको कुराकानीमा कांग्रेस, वामपन्थी दलहरू र भीसीकेलाई धन्यवाद दिए।
उनले भने, 'लोकतन्त्रको रक्षा गरिनेछ र जनताको समर्थनमा विजय तमिलनाडुको मुख्यमन्त्री बन्नेछन्।'
प्रकाशित: २७ वैशाख २०८३ ०७:४८ आइतबार





