थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा शाही क्षमादान पाएसँगै बाँकी कानुनी दायित्वबाट पूर्ण रूपमा मुक्त भएका छन्।
थाई राजपत्रमा बुधबार प्रकाशित आदेशअनुसार राजा महा वजिरालोङ्कोर्नले थाक्सिनमाथि लागू रहेको प्रोबेसन अवधि समाप्त गर्ने निर्णय गरेका हुन्। रानी सुथिदाको जन्मदिनको अवसरमा घोषणा गरिएको विशेष क्षमादान कार्यक्रमअन्तर्गत उनलाई यो सुविधा प्रदान गरिएको बताइएको छ।
७६ वर्षीय थाक्सिन केही समयअघि बैंककस्थित कारागारबाट रिहा भएका थिए। रिहाइपछि उनी प्रोबेसनमा रहेका थिए र निगरानीका लागि इलेक्ट्रोनिक ट्र्याकिङ उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था थियो। नयाँ शाही आदेशपछि उक्त व्यवस्था पनि हट्ने भएको छ।
थाक्सिनका कानुनी प्रतिनिधि विनयात चातमोन्ट्रीले ट्र्याकिङ उपकरण हटाउने प्रशासनिक प्रक्रिया पूरा हुन केही दिन लाग्न सक्ने जानकारी दिएका छन्।
पूर्व प्रधानमन्त्री थाक्सिनमाथि सत्ता दुरुपयोग गरी व्यावसायिक लाभ लिएको तथा सरकारी लटरीसम्बन्धी योजनामा अनियमितता गरेको आरोप लागेको थियो। सो मुद्दामा उनलाई सन् २०२३ मा आठ वर्ष कैद सजाय तोकिएको भए पनि पछि शाही निर्णयमार्फत सजाय अवधि घटाएर एक वर्ष कायम गरिएको थियो।
स्वास्थ्य अवस्थाका कारण उनले सजायको केही समय बैंकक प्रहरी अस्पतालको विशेष कक्षमा बिताएका थिए। सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको नेतृत्व गरेका थाक्सिनलाई सैन्य हस्तक्षेपपछि सत्ताबाट हटाइएको थियो।
प्रकाशित: २० जेष्ठ २०८३ १५:१६ बुधबार





